
जनकविकेशरी धर्मराज थापाले प्रकाशन सुरु गरेको अनुसन्धानमूलक लोक साहित्य,संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’ को पुनः प्रकाशन सुरु भएको छ ।
जनकवि केशरी थापाको १०१औं जन्मजयन्ती अवसरमा जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा पत्रिका सार्वजनिक गरिएको हो । विक्रम सम्वत २०१० सालमा ‘डाँफेचरी’ ऋतु पत्रिका प्रकाश सुरु भएको थियो ।
लोकार्पण एवं ‘सम्झनामा धर्मराज थापा’ सांगीतिक समारोहमा प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. दयाराम श्रेष्ठ सम्भव,संस्कृतिविद् डा.जगमान गुरुङ, प्रा.रमा शर्मा पूर्वशिक्षामन्त्री राधाकृष्ण मैनालीलगायतको उपस्थिति थियो ।
वक्ताहरुले धर्मराज थापालाई गायक मात्र नभएर एक क्रान्तिकारी कवि तथा गीतकार रुपमा लिनुपर्ने धारणा राखे । जनकविकेशरी थापाको जन्म १९८१ साल, साउन १ गते कास्कीको बाटुलेचौरमा भएको थियो । उनको निधन २०७१ असोज २९ गते काठमाडौंमा भएको थियो ।