काठमाडौं, साउन २ :

नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष ०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको असार ३१ गते बसेको बैठकले आर्थिक वर्ष ०८२-८३ का लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषिराम भण्डारीले जानकारी दिए ।

बोर्डले सुरक्षित, भरपर्दा र आकर्षण पर्यटकीय स्थलको विकास गरी अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छवीलाई स्थापित गर्ने उद्देश्यसहित आफ्नो बजेट तथा कार्यक्रम ल्याएको हो । बजेट उपसमिति संयोजक भण्डारीले यस ऐतिहासिक बजेटले महत्कांक्षी योजना सार्वजनिक गरेको र यसले बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउने बताएका छन् । उनले थपे, ‘चालु आर्थिक वर्षमा बोर्डले नेपालमा पर्यटक आगमन कम्तिमा १५ प्रतिशतले वृद्धि गर्दै समग्र पर्यटन क्षेत्रलाई चलायमान गराउने लक्ष्य लिएको छ ।’

त्यसैगरी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बजेट समयमै पारित गर्न सफल भएको उल्लेख गरे । उनले भने, ‘यो बजेट केवल रकमको लेखाजोखा मात्र होइन, नयाँ युगको प्रतिबद्धता पनि हो ।’ सीईओ जोशीले पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनद्वारा राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जनमा अभिवृद्धि गरी रोजगारीका अवसरहरु सिर्जना गर्ने र पर्यटन क्षेत्रको दिगो विकासका लागि यस वर्षको बजेट केन्द्रित भएको बताएका छन् ।

त्यसैगरी चालु आर्थिक वर्षमा नेपाल आसियन पर्यटन वर्ष २०२६ का रुपमा प्रवर्द्धन गर्ने पनि यस वर्षको बजेट तथा कार्यक्रममा उल्लेख छ । यसैगरी गुणस्तरीय पर्यटक आगमनलाई प्राथमिकीकरण गरी पर्यटकबाट हुने समग्र आयमा कम्तिमा १५ प्रतिशतले वृद्धि गर्ने बोर्डको लक्ष्य रहेको छ । बोर्डले चालु आर्थिक वर्षमा कम्तिमा ५० वटा स्रोत बजारमा प्रवर्द्धनात्मक कार्यक्रमहरु गर्ने, पर्यटन व्यवसायका लागि आवश्यक थप ५ हजार जनशक्ति उत्पादन गर्ने र पर्यटनको विस्तारीकरणका लागि कम्तिमा २५ वटा नयाँ पर्यटनको पूर्वाधार संरक्षण गर्न भएको छ ।

बोर्डको सेवा विस्तारका लागि कुल बजेटको ७० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्ने र भारतमा कार्यालय खोल्‍ने भएको छ । भारत नेपालको प्रमुख पर्यटक स्रोत बजार हो, जहाँबाट सन् २०२४ मा मात्र ४ लाखभन्दा बढी पर्यटक नेपाल आएका थिए । भारतीय बजारलाई अझ प्रभावकारी ढंगले सम्बोधन गर्न, दिल्ली वा अन्य प्रमुख सहरमा स्थायी कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

यसका साथै प्रादेशिक कार्यालयहरु स्थापना गर्नेसमेत यस वर्षको बजेट तथा कार्यक्रममा उल्लेख छ । बोर्डले पर्यटन बजार व्यवस्थापन तथा प्रबर्द्धनका लागि ४३ करोड ६१ लाख विनियोजन गरेको छ । त्यसैगरी जनसम्पर्क तथा प्रचार-प्रसारका लागि १२ करोड ९५ लाख, अनुसन्धान, योजना तथा अनुगमनका लागि दुई करोड ६७ लाख, पर्यटन सम्पदा तथा संसाधान विकासका लागि १८ करोड ६३ लाख ५० हजार विनियोजन गरेको छ ।

त्यसैगरी नयाँ प्रादेशिक कार्यालय स्थापना र सञ्‍चालनका लागि ११ करोड ६६ लाख विनियोजन गरिएको छ । त्यसैगरी विशेष प्रवर्द्धनात्मक कार्यक्रमहरु बुद्धिष्ट ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट, एड्भेन्चर ट्राभल मार्ट, सगरमाथा सम्मान कार्यक्रम र सफारी टुरिजम् मार्टका लागि ४ करोड ६२ लाख विनियोजन गरिएको छ ।

बोर्डले अमेरिका, चीन, जापान, कोरिया, अस्ट्रेलिया, बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्यान्ड र युरोपका विभिन्न देशमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । ‘नेपाल : लाइफ टाइम एक्सपिरियन्स’ भन्ने नारालाई आधार मानेर विश्वका प्रमुख पर्यटन मेलाहरूमा सहभागिता जनाउने, डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय संचारमाध्यमहरूसँग सहकार्य, ट्राभल ब्लगर र मिडिया फ्याम टुरजस्ता कार्यक्रमहरू प्राथमिकतामा राखेको छ ।

अन्तर्राष्ट्रिय बजारसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि बजेट विनियोजन गरिएको छ । विशेषगरी प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसँग सहकार्यमा विभिन्न गन्तव्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । जसका लागि सुदूरपश्चिम, कर्णाली र पूर्वी नेपालका उदीयमान गन्तव्यहरूलाई लक्षित गरिएको छ ।

बोर्डको बजेटमा डिजिटल पूर्वाधार सुदृढीकरण, अनुसन्धान तथा तथ्यांक प्रणाली सशक्तीकरण र पर्यटनसम्बन्धी जनशक्ति विकासका कार्यक्रमहरूसमेत समावेश छन् । पर्यटनसम्बन्धी अध्ययन, तालिम र विज्ञ कार्यक्रमहरूका लागि छुट्टै रकम छुट्याइएको छ । अन्तर्राष्ट्रिय मेला-महोत्सव, सेल्स मिसन, डिजिटल मिडिया अभियान, सिने टुरिज्म, डायस्पोरा कनेक्ट, ब्रान्डिङ र प्रभावशाली कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइने बजेटमा उल्लेख छ ।

भौतिक पूर्वाधार निर्माण, पदमार्गको सुधार, नमस्ते सेन्टर स्थापना, बौद्ध गन्तव्य प्रवर्द्धन, पर्वतीय क्षेत्रका लागि तालिम, ग्रिन हस्पिटालिटी प्रमाणीकरण, घरेलु पर्यटन प्रवर्द्धन, पर्यटन टुर अपरेटर तालिम, भाषा र डिजिटल सीपसम्बन्धी तालिमलगायत कार्यक्रममार्फत गन्तव्य विकास र स्थानीय सशक्तीकरणलाई बलियो बनाउने उद्देश्य यस वर्षको बजेटले लिइएको छ । मिथिला कला, प्याराग्लाइडिङ प्रतियोगिता, हात्ती महोत्सव, पर्वतीय र जंगल सफारीजस्ता सांस्कृतिक तथा साहसिक गन्तव्यहरूलाई पनि बजेटमार्फत प्रवर्द्धन गरिने भएको छ ।

पोखरा कार्यालयमार्फत पोखरा ट्राभल मार्ट, सडक महोत्सव, अन्नपूर्ण तथा मानस्लु पदमार्ग प्रवर्द्धन, पर्यटक प्रहरी तालिम, बेसिक तथा एडभान्स क्यानियोनिङ तालिम र पर्वतीय संग्रहालय प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरिने बजेटमा उल्लेख छ । भारत, चीन र दक्षिण एसियाली मुलुकहरूमा पनि आक्रामक प्रचार कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

बजेटमार्फत दिगो पर्यटमा लागि पर्यटन सूचना व्यवस्थापन प्रणाली (टिम्स) को प्रभावकारी कार्यान्वयन, विपद् व्यवस्थापन कोष, जलवायु परिवर्तनमा संवेदनशीलता अभिवृद्धि, अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य विस्तार जस्ता दीगो पर्यटनका पक्षहरूलाई ध्यानमा राखेर आगामी दशकलाई दिगो पर्यटन विकासको आधारशीला निर्माण गर्ने रणनीतिमा बनेट केन्द्रित गरेको स्पष्ट पारेको छ ।

सीईओ जोशीले भने, ‘यो बजेट केवल रकमको हिसाब मात्र होइन, यो नेपालको पर्यटन पुनर्जागरणको रोडम्याप हो । हामीले बजारअनुसारको रणनीति बनाएका छौं, स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गरेर नेपालको पर्यटन क्षेत्रलाई दिगो रुपमा विस्तार गर्नेछौं ।’

बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले पनि आगामी दिनमा निजी क्षेत्रको सहभागिता, स्थानीय तहको समन्वय, र अन्तर्राष्ट्रिय साझेदारीको माध्यमबाट ‘स्मार्ट टुरिज्म नेपाल’ को अवधारणा कार्यान्वयन गरिने बताएका छन् ।