काठमाडौं, साउन २ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाएको गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष गिरीलाई पदमुक्त गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाए । गिरी मनोनीत उपाध्यक्ष हुन् ।

उपाध्यक्ष गिरिसहित चार पदाधिकारीले साझा विज्ञप्ति निकाल्दै पार्टीको शीर्ष तहमा भएको सहमतिविपरीत नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाइएको भन्दै अध्यक्ष लिङ्देनको चर्को आलोचना गरेका थिए ।

अध्यक्षको कार्यशैलीको कारणले पार्टीमा क्षति पुगेको उनीहरुको निष्कर्ष थियो ।

यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए ।

त्यसपछि अध्यक्ष लिङ्देनविरुद्ध उपाध्यक्ष गिरीसहित अर्का उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती शाहीले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए ।