
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीहरुलाई रासनको अभाव रहेको बताएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले सुरक्षाकर्मीहरुले धेरै समस्यामा रहेर काम गर्नुपरेको उल्लेख गरे । काठमाडौंमा सशस्त्र प्रहरी बलले बिहानको चियादेखि बेलुकाको खानासम्म २०३ रुपैयाँमा रासनको व्यवस्था गर्नुपरेको उनको भनाइ छ ।
सुरक्षा बललाई पोसाक किन्न तीन अर्ब सात करोड आवश्यक पर्ने भए पनि ६१ करोड १८ लाख मात्रै दिने गरिएको र यसले गुणस्तरीय पोसाक किन्न समस्या रहेको गुनासो गरे । यसबारे सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
‘सुरक्षाकर्मीहरुले धेरै समस्यामा काम गर्नुपरिरहेको छ । रासनकै पनि धेरै कमी छ । काठमाडौंमा २०३ रुपैयाँ छ । त्यसले दिनभरको चियादेखि सुत्ने बेलासम्मको खानाको म्यानेज गर्नुपरेको छ,’ उनले भने, ‘पोसाकमा नियमावलीमा दिएको अधिकारअनुसार किन्नुपर्दा लगभग तीन अर्ब सात करोड हामीलाई आवश्यक पर्दछ । जम्मा ६१ करोड १८ लाख दिइन्छ । क्वालिटीअनुसारको बुट, लुगा किन्न समस्या छ । यसको व्यवस्थापनमा नेपाल सरकार गम्भीर हुन जरुरी छ ।’
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अपराध नियन्त्रणका लागि सीमामा अभिलेख राख्ने काम गरिरहेको पनि जानकारी दिए । मनोबलका लागि पाँच सय जनाको इन्स्योरेन्स गरेको पनि उनले बताए ।