
संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरुलाई राखेर अनुसन्धान अघि बढाएको छ ।
सिंहदरबारमा शनिबार बसेको बैठकले विज्ञका रुपमा संविधानविद् काशीराज दाहाललाई समितिमा राखेर छानबिन प्रक्रिया अघि बढाएको हो । बैठकपछि समिति सभापति जीवन परियारले आज १२औं दिनको १८औं बैठक बसेको र आज समिति गठन भएको १३औं दिन भएको जनाए ।
उनले विगतमा कसरी र के काम भए, बाँकी कामहरु कसरी अघि बढाउने, छानबिनका कामहरु कसरी अघि बढाउने भन्नेबारे बैठकमा छलफल भएको जानकारी दिए । समितिले निर्णय गरेअनुसार संविधानविद् दाहाललाई विज्ञका रुपमा आजको बैठकदेखि समितिमै राखेर काम सुरु गरेको पनि परियारले जनाए ।
समिति सभापति परियारले शनिबारको बैठकमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एकजना सहन्यायाधिवक्ता र एकजना उपन्यायाधिवक्तासमेत बैठकमा निरन्तर रहने गरी छानबिनमा सहयोग गर्न बोलाइएको बताए ।
‘संविधानविद् काशिराज दाहाललाई विज्ञको रुमपा आजदेखि समितिमै बस्नेगरी तयारी गरेका छौँ । महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एकजना सहन्यायाधिवक्ता आउनुभएको छ भने एकजना उपन्यायाधिवक्तासमेत हाम्रो बैठकमा निरन्तर रहने गरी छानबिनमा सहयोग पुर्याउन आग्रह गरेका थियौं,’ उनले भने, ‘सोहीबमोजिम उहाँहरु आजको बैठकमा सहभागी हुनुहुन्छ । छलफल जारी छ, सोधपुछ भइरहेको छ । धेरै कामहरु सम्पन्न गरिसकेको अवस्था छ ।’
सभापति परियारले बैठकमा अनुसन्धानको काम जारी रहेको र धेरै कामहरु सम्पन्न भइसकेको अवस्था रहेको जानकारी दिए । गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ ।