ललितपुर, साउन ४ :

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । एमाले पार्टी कार्यालय च्यासलमा दुई नेताहरुबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । 

एमालेको पार्टी सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीबारे एमाले पोलिटब्युरो बैठकले पार्टी सदस्यता नविकरण पेण्डिङमा रहेको र अहिले नै अध्यक्ष बनाएर जानसक्ने स्थिति नरहेको निष्कर्ष निकालेको थियो । 

बैठक विधान महाधिवेशन केन्द्रित भनिएपनि धेरै नेताहरुले भण्डारीको राजनीतिक सक्रियताबारे धारणा राखेका थिए । देशको गौरवको रुपमा रही सकेको व्यक्ति पुनः राजनीतिमा फर्किनुले व्यवस्थामाथि नै प्रश्न उठ्ने धारणासमेत नेताहरुले बैठकमा राखेका थिए । सोही विषय र पछिल्ला राजनीतिक समसामयिक विषयहरुमा दुई नेताबीच छलफल भएको बताइएको छ ।