काठमाडौं, साउन ४ :

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीबीच सहमतिबाटै समस्या समाधान गर्ने समझदारी बनेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको वान टु वान वार्ताका क्रममा दुई नेताहरुबीच एकले अर्कोलाई विभाजित गरेर नभई सहमति र समझदारी बनाएर अघि बढ्ने निष्कर्ष निस्केको हो । छलफलबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफल सकारात्मक ढंगले अघि बढेको र राजनीतिले नै सम्बन्धलाई अघि बढाउने बताए ।

दुई नेताहरुले आज आफूलाई लागेका कुराहरु खुलेर राखेको र अब कुनै पनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि बढ्नसक्ने स्थिति नरहेकामा सहमति जुटेको गौतमले बताए । अब पार्टीमा हुने गतिविधिहरु सहमति र छलफलबाटै अघि बढाउने निष्कर्ष निकालिएको गौतमको भनाइ छ ।

‘छलफल सकारात्मक ढंगले अघि बढेको छ । राजनीतिले नै सम्बन्धलाई टुंगो गर्दछ । सम्बन्धले राजनीतिको टुंगो गर्दैन । आज राजनीतिक मुद्दाहरुमा, दृष्टिकोणमा समानता हुने परिस्थिति निर्माण भइसकेपछि राजनीतिले नै सम्बन्धलाई सुदृढ बनाएर लैजान्छ भनेझैँ आज खुलेर पार्टीको आन्तरिक जीवन, विधान महाधिवेशन, त्यसको तयारीका सन्दर्भमा र अहिलेका राष्ट्रिय राजनीतिका विकसित घटनाक्रमका बारेमा दुवै नेताहरुको बीचमा खुलेर एकले अर्कालाई लागेका कुरा राख्नुभएको छ,’ प्रचार विभाग प्रमुख गौतमले भने, ‘अब कुनै पनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि जानसक्ने परिस्थिति बन्दैन । हामी जे गर्छौं सहमति र छलफलबाट नै टुंग्याउँछौँ भन्नुभएको छ ।’

प्रचार विभाग प्रमुख गौतमले एकले अर्कोलाई निषेध गरेर अघि बढ्ने स्थिति नरहेको निष्कर्ष निस्किएको जानकारी दिए ।

यो पनि…

ओलीलाई भेटेपछि विद्या भण्डारीले भनिन्- एमालेको सदस्यता पहिल्यै नवीकरण भइसक्यो
अध्यक्ष ओली र नेतृ भण्डारीबीच के भयो कुराकानी ? [तस्बिरसहित]