काठमाडौं, साउन ५ :

उत्तरी गोरखाको मनास्लु पदमार्गमा निस्कने फोहोर संकलन र व्यस्थापनका लागि विभिन्न ४० स्थानमा ‘डस्टबिन’ राखिएको छ ।

स्थानीय बासिन्दाको सहभागितामा फोहोर व्यवस्थापनका लागि पदमार्गमा ‘डस्टबिन’ राखिएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

पदमार्गलाई सफा, सुन्दर र सुरक्षित राख्न ठाउँठाउँमा ‘डस्टबिन’ राखिएको छ । फोहोर व्यवस्थापनबाट वातावरण संरक्षणमासमेत सहयोग पुग्ने शेरचनले बताए ।

‘त्यहाँ घुम्ने पर्यटकले जथाभावी फोहोर फ्याँक्ने गर्दा मनास्लु लार्केपास पदमार्गमा जथाभावी फोहोर देखिने गरेको छ । त्यसलाई व्यवस्थित र प्रभावकारी व्यवस्थापनका लागि ठाउँठाउँमा डस्टबिन राखिएको छ,’ उनले भने ।

मनास्लु पदमार्गमा पानीको बोतल, बिस्कुट चाउचाउका खोललगायत फोहोर यत्रतत्र देखिने गरेका थिए । ‘अब फोहोरको उचित व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ,’ प्रमुख शेरचनले भने, ‘स्थानीयवासी सबै मिलेर पदमार्गमा पुगेका पर्यटकलाई बाटोमा फोहोर फाल्न नदिने र डस्टबिनमा फाल्ने बानीलाई प्रोत्साहन गर्नसके फोहोर व्यवस्थापन निकै सहज हुनेछ ।’

उनका अनुसार डस्टबिन राख्नुअघि आयोजना कार्यालयले स्थानीय सरोकारवाला, आमा समूहलगायतसँग कार्यक्रमको प्रभावकारिता लगायतको विषयमा छलफलसमेत गरेको थियो ।

स्थानीय बासिन्दा लक्ष्मी गुरुङले पदमार्गमा राखिएका ‘डस्टबिन’ ले पदयात्रामा आउने पर्यटकलाई पनि राम्रो सन्देश दिने बताइन् । ‘पदमार्ग वरपर फोहोरको समस्या बढ्दै गएको थियो । अहिले डस्टबिन राखिएपछि जथाभावी फोहोर फाल्नुहुँदैन भन्ने सन्देश दिएको छ,’ उनले भनिन् ।

कार्यालयले स्थानीय बासिन्दालाई फोहोर व्यवस्थापन, पुनः प्रयोग र रिसाइकलको विषयमा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको छ । मनास्लु पदमार्गमा एक वर्षमा १२ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुग्ने गरेका छन् । -रासस