काठमाडौं, साउन ५ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनः नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सक्रिय रूपमा फर्किने संकेतले नेपालको वर्तमान राजनीतिक परिदृश्यमा तरङ्ग ल्याएको छ। तर यो तरङ्ग एमाले पार्टीभित्र भने एक किसिमको शक्ति-भूकम्प बनेर देखा परेको छ। खासगरी अध्यक्ष केपी शर्मा ओलीको दीर्घकालीन नेतृत्वलाई पहिलोपटक गम्भीर चुनौती दिने संकेत देखिएको छ।

ओलीको 'अपरिहार्य नेता' को छविमा  चोट

एमालेमा अध्यक्ष पदमा निर्विरोध रहने ओलीको कल्पना अब त्यति सहज छैन। भण्डारीजस्ती प्रभावशाली र साहसी नेतृले राजनीतिक मञ्चमा पुनः अवतरण गर्दा ओलीका लागि ‘थाल खाऊ कि भात खाऊ’ जस्तो द्विविधाको स्थिति सिर्जना भएको छ।

यदि भण्डारीको स्थानमा अरू कोही नेता उभिएको भए, ओलीले सहजै साइड लगाइदिन्थे होला। तर भण्डारी ओलीकै निकट सहकर्मी, विश्वासपात्र पूर्वराष्ट्रपति, र पार्टीको महिला अनुहार भएकाले ओलीको रणनीति अब गम्भीर पुनर्विचारको मोडमा पुगेको छ।

बालुवाटारबाट च्यासलसम्म ल्याउने शक्ति परीक्षण

स्रोतअनुसार आइतबारको भेटमा ओलीले विद्या भण्डारीलाई बालुवाटार बोलाएका थिए, तर भण्डारी ‘बालुवाटारको कुरा रेकर्डमा रहँदैन’ भन्दै पार्टी कार्यालय च्यासलमै भेट्ने अडानमा रहिन्। यो सत्ता र संवादको प्रकृतिमा भण्डारीको आत्मविश्वासपूर्ण फर्काइ थियो। उनले ओलीसँगको वार्तालाई गम्भीर रूपमा लिन आग्रह गरिन् र नेताहरूको उपस्थितिमा संवाद गर्न चाहिन्  जुन कुरा ओलीका लागि असहज भए पनि स्वीकार गर्नुपरेको थियो।

सदस्यता नवीकरण र जिम्मेवारीको प्रतिक्षा

प्रारम्भमा पेन्डिङ रहेको भनिएको भण्डारीको पार्टी सदस्यता, ओलीसँगको भेटपछि ‘पहिल्यै नवीकरण भइसकेको’ बताइएको छ। यसले संकेत गर्छ कि उनी अब सिर्जनात्मक राजनीतिक भूमिकाको प्रतिक्षामा छन् । अर्थात् एमालेले उनलाई के भूमिका दिने हो भन्ने चाँडै स्पष्ट हुनुपर्ने अवस्था आएको छ।
भण्डारीको सक्रियता स्वभावतः ओलीको दीर्घकालीन नेतृत्व आकांक्षामा अवरोध हुनसक्छ, जुन कारणले ओलीको मनस्थिति झन् असहज भएको देखिन्छ।

अन्तरिक विरोध र नेताहरूको दबाब

शनिबारको पोलिटब्युरो बैठकमा अधिकांश नेताहरूले भण्डारीसँग संवाद गर्न ओलीलाई सुझाव दिएका थिए, जसले पार्टीभित्र पनि ओलीप्रति पूर्ण समर्थन नरहेको संकेत गर्छ।ओली अझै पनि आफूलाई ७० वर्षे उमेर हद वा नेतृत्व हस्तान्तरण जस्ता सवालहरूमा १४ वर्ष जेल बसेको समय घटाएर उमेर हद गणना गर्नुपर्छ भन्ने तर्क गर्न थालेका छन्।

पूर्वराष्ट्रपति भण्डारीको सक्रियता एमालेभित्रको सन्तुलनमा गहिरो असर पार्न सक्छ। उनी ओली नेतृत्वको विकल्पका रूपमा मात्र होइन, कार्यशैलीको पनि फरक स्वरूप प्रस्तुत गर्ने तयारीमा देखिन्छिन्।

ओलीले जसरी पनि आफ्नो नेतृत्व कायम राख्ने संकेत दिएका छन् भने, भण्डारी भने संविधानसम्मत, संवादमुखी, तर चुनौतीपूर्ण बाटो रोज्दै अगाडि बढ्ने संकेत दिइरहेकी छन्।भविष्यमा एमालेभित्र नेतृत्वको प्रतिस्पर्धा हुने हो भने, भण्डारी-ओली प्रतिस्पर्धा नेपालको वाम राजनीतिमा एउटा ऐतिहासिक मोड बन्ने सम्भावना प्रबल देखिन्छ।