
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको ६ दिने औपचारिक भ्रमणमा गएकी छन् ।
चाइना साउदर्न एयरलाइन्सको उडानबाट मंगलबार राति राना चीनको हेनान प्रान्ततर्फ गएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका उपसचिव जगदीश न्यौपाने पनि सहभागी छन् ।
चीनको हेनान प्रान्तमा साउन ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने सांघाई को-अपरेसन फोरम मिडिया एन्ड थिंक ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गरेकी हुन् । कार्यक्रममा रानाले सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङ्झाउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नेछिन् । उपसभामुख राना साउन ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।