
काठमाण्डौं,साउन १५: सरकारले २१ जना सचिवहरूको सरूवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले एकैपटक धेरै सचिवहरूको सरूवा गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद निर्णय अनुसार रामप्रसाद घिमिरे अर्थ सचिव हुनुभएको छ। यसअघि उहा राजस्व सचिव हुनुहन्थ्यो।
त्यस्तै बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश घिमिरेलाई राजस्व सचिव बनाउने निर्णय गरेको छ।
यसअघि अर्थसचिव रहेका मधुकुमार मरासिनीलाई भने उपराष्ट्रपति कार्यालयमा सरूवा गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केशवकुमार शर्मालाई सरुवा गरिएको छ । उहालाई जल तथा ऊर्जा आयोगबाट सरुवा गरिएको हो ।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई ऊर्जा मन्त्रालयमा सरुवा गरिएको छ ।
हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहनुभएका घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । हालका अख्तियारका सचिव रहनुभएका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव रहनुभएका मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालयमा सरूवा गरिएको छ ।
डिल्लीराम शर्मा राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा र लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा सरूवा गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहेका रामकृष्ण सुवेदीको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा भएको छ ।
सञ्चार मन्त्रालयको सचिवमा उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्यालले जिम्मेवारी पाउनुभएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडी राष्टिय तथ्यांक कार्यालयमा सरुवा गरिएको छ भने राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा खरिद अनुगमन कार्यालयबाट सरूवा भएका भरतमणि सुवेदी, प्राकृतिक स्रोत तथा वित्त आयोगमा किरणराज शर्मा, वाणिज्य सचिवमा प्राकृतिक स्रोत तथा वित्त आयोगमा सचिव रहनुभएका मधुसुदन बुर्लाकोटीको सरूवा भएको छ ।
यसैगरी राष्ट्रपतिको कार्यालयमा नारायण प्रसाद दुवाडी, नेपाल ट्रष्टको कार्यालयमा रामाधार शाह, खानेपानी मन्त्रालयमा प्रमिला देवी बज्राचार्य र जल तथा ऊर्जा आयोगमा सुरेश आचार्य सरुवा हुनुभएको छ ।