
प्रहरीले लागूऔषध बिक्री- वितरण गरेको आरोपमा पूर्वसांसद पोखरा- २४ निवासी ४८ वर्षीय डा ढाकाकुमार श्रेष्ठलाई बिहीबार पक्राउ गरेको छ ।
लागूऔषध ट्याबलेट ९७ चक्की सहित पक्राउ परेका रोल्पा त्रिवेणी गाउँपालिका- ७ स्थायी घर भई हाल पोखरा महानगरपालिका- ४ बस्ने ४२ वर्षीय प्रकाश थापा मगरले पोखरा- ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट लागूऔषध खरिद गरी ल्याएको बयान दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
फार्मेसीका सञ्चालक डा श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुन बमोजिम पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी अविनाशदीप जिसीले जानकारी दिनुभयो ।
विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित डा. श्रेष्ठले रकम लेनदेनको अभियोग लागेपछि सांसद पद गुमाएका थिए ।