काठमाडौं, साउन ९ :

निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको म्याद सात दिन थपिएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले समितिको म्याद सात दिन थप्न प्रस्ताव गरे ।

समितिलाई छानबिन गरी प्रतिबेदन बुझाउन २१ दिनको समय दिइएको थियो । त्यो समय साउन ११ गते आइतबार सकिन थालेको थियो । समितिले थप समय मागेकाले सभामुख घिमिरेले ७ दिन म्याद थप गरेका हुन् ।

समितिले लामो समय छलफल गरेर निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारीलाई दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी नियुक्तिमा जान नपाउने गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्था विधेयकमा गरेको थियो । तर प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था निष्क्रिय हुने अर्को प्रावधान रहेको फेला परेपछि समिति बनाइएको थियो ।

यसबारे समितिमै प्रश्न उठेपछि समिति सभापति रामहरि खतिवडाले नै सभामुख घिमिरेलाई छानबिनका लागि आग्रह गरेपछि कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा समिति बनाइएको थियो ।