
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१३ करे खोलाका करिब ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नै ४० वर्षीय श्रीमती रविना ठाडा मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
दानसिंहले गएराति करिब १:४० बजे सुतिरहेकी श्रीमतीको टाउकोमा काठको टुक्राले प्रहार गरेका थिए ।
प्रहरीका अनुसार हत्या लगत्तै ठाडा मगरले ठेगाना सहित प्रहरीलाई नै फोन गरेर आफुलाई पक्राउ गर्न बोलाएका थिए । जानकारी पाउने वित्तिकै नगर प्रहरी र प्रहरी चौकी करे खोलाबाट टोली घटनास्थलमा पुगेको थियो ।
खबर पाउनासाथ घट्नास्थल पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहनजंग थापाले बताए ।
घटनाको कारण अझै खुलिसकेको छैन । थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीको भनाइ छ ।