काठमाडौं, साउन १२ :

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ ।

नाइमाले काठमाडौंमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । यही साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने ‘मोबिलिटी एक्स्पो २०२५’ मा ३५ वटा नयाँ सवारीसाधन सार्वजनिक गरिने भएको छ ।

एक्सपोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक (कमर्सियल) सवारीसाधन सार्वजनिक गरिने बताइएको छ । पत्रकार सम्मेलनमा नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले नाइमा मोबिलिटी एक्स्पो नेपालकै सबैभन्दा ठुलो र समावेशी अटो प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन् ।

उनले प्रदर्शनी अवधिभर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी रहने प्यानल डिस्कसन र ज्ञानमूलक सत्रहरू आयोजना गरिने पनि जानकारी दिइन् ।

एक्सपोमा विद्युतीय सवारीसाधन, नयाँ प्रविधि र नवप्रवर्तनमूलक मोबिलिटी समाधानहरू प्रदर्शनीको मुख्य आकर्षण रहने बताइएको छ । एभरेस्ट बैंक लिमिटेड र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदर्शनीका प्रमुख प्रायोजक छन् ।

राइड सेयरिङ पठाओले एक्स्पो गन्तव्य भृकुटीमण्डपमा आउन-जान प्रयोग हुने राइडमा ३० प्रतिशतसम्म छुट दिने भएको छ । फ्रन्टलाइन अस्पतालले चौबीसै घण्टा एम्बुलेन्स र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।

एक्स्पोलाई लक्षित गर्दै नाइमाले अनलाइन भिडियो प्रतियोगिता पनि गराउने भएको छ । प्रतियोगितामा सहभागीले नाइमा अटो एक्स्पोसँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न सक्नेछन् । उत्कृष्ट भिडियो बनाउने एक जनालाई १ लाख र साउन २१ देखि २५ सम्म पोस्ट गरिएका १० उत्कृष्ट भिडियो बनाउनेलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।