
साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेप्से ३०.७६ अंकले बढेको छ । योसँगै नेप्से ३००२.०७ विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.६६ अंकले बढ्दै ५१८.५९ अंकमा चढेको छ ।
नेप्सेमा आज ३२१ वटा कम्पनीको एक लाख ५७ हजार ५२५ पटकको कारोबारमा चार करोड १८ लाख आठ हजार ९६६ कित्ता सेयर किनबेच भए । जसअनुसार आज १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँबराबरको कारोबार भएको छ ।
हरियाली बनेको सेयर बजारमा आज १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ वटा कम्पनीको मूल्यमा गिरावट आयो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा डेभलपमेन्ट बैंक, फाइनान्स र व्यापार समूहका सूचक मात्र घटे । बाँकी सबै समूहका सूचकमा हरियाली छायो ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जी लिमिटेड परेको छ । यी तीनै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसैगरी बढी गुमाउने कम्पनीको पहिलो सूचीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ११४८.८४ रुपैयाँ कायम रह्यो ।
नेप्सेमा आज हिमालयन डिस्टलरी लिमिटेडको कारोबार सर्वाधिक भएको छ । हिमालयनको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १५२४ रुपैयाँमा रह्यो । यसको ६४ करोड ४१ लाख ३८ हजार २७५ रुपैयाँको सेयर कारोबार भएको छ ।