काठमाडौं, साउन १६ :

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एकछाक कोदोको परिकार खान आग्रह गरेका छन् ।

राष्ट्रिय कोदो दिवसका अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाइँ कार्यक्रममा उनले स्वस्थ रहन कोदोको परिकार खानुपर्ने बताए । हरेक नेपालीहरुलाई दिनमा एकछाक कोदोको परिकार खाने हो भने स्वस्थ रहने उनको भनाइ छ । उनले भने, ‘हामी स्वस्थ रहने हो भने, एकछाक मात्रै भए पनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गर्न सक्यौँ भने वास्तवमा स्वस्थ पनि हुन्छौं ।’

कोदोको खानेकुराहरुले अहिलेलाई मात्रै फाइदा नभइ भावी सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने मन्त्री अधिकारीले बताए । मकै,धान, गहुँसरह नै कोदो पनि महत्त्वपूर्ण बाली रहेको उनले बताए ।

‘हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भावी सन्तति पनि रोगी भएर जन्मिन्छन् । रोग भित्र्याउने काम हुन्छ । नेपाल सरकारले गरेको निर्णयको कार्यान्वयन आज चाँगुनारायण नगरपालिकाले कार्यान्वयन गरेको छ,’ मन्त्री अधिकारीले भने, ‘हामीले बाटाभर थुप्रै मकैबारी देखेर आयौँ । मकै,धान, गहुँसरह नै कोदो पनि महत्त्वपूर्ण बाली हो । यसको पनि त्यत्तिकै विकास गर्न सक्नुपर्छ । उत्पादनको ग्यारेन्टी कसरी हुनसक्छ त्यसमा पनि खोजी गर्नुपर्छ ।’

मन्त्री अधिकारीले कृषिमा काम गर्ने हो भने कोदो रोपेर उत्पादन बढाएर बढी फाइदा लिनुपर्ने धारणा पनि राखे ।