मकवानपुर, साउन १८ :

‘हामी खोला र वनका रक्षक हौं, अपराधी होइनौं, हाम्रो संस्कृति, पेसा र पहिचान जोगाउन सरकारले ध्यान दिनुपर्छ,’ माछा मार्ने जाल बुन्दाबुन्दै जनप्रतिनिधि बनेकी मकवानपुरको मनहरि गाउँपालिका ७ की कान्छीमाया बोटेले भनिन् । माछा मार्ने अनुमतिपत्र नवीकरण गरिदिनुपर्ने उनको माग छ ।

कान्छीमाया भन्छिन्, ‘वन र खोलामा नजाने हो भने घर चल्दैन, जाने हो भने निकुञ्जले समातेर आधाबार पुर्याउँछ र अपराधीजस्तो महसुस गराउँछ । त्यसैले सरकारले हाम्रो परम्परगत सीप र जीवनशैली बुझिदिनुपर्छ ।’ खोलामा माछा मार्ने विकल्पका रूपमा धन कमाउन विदेश गएको २७ वर्षीय छोराको शव फर्किएको घटना उनी सम्झन्छिन् । भन्छिन्, ‘हामीलाई विदेशमा मर्न बाध्य नबनाऊ सरकार, हाम्रो आफ्नै पहिचान छ, जुन वातावरणमैत्री नै हो ।’ उनका अनुसार बोटे समुदाय प्रकृति पुजारी भएकाले प्रकृतिलाई क्षति नपुर्याई जीवन धान्ने गरिएको थियो । सामुदायिक वन भने पनि पस्न नपाउने भएकाले त्यो समुदायको हो भन्नेसम्म पनि नलागेको कान्छीमाया बताउँछिन् ।

राप्ती खोलामा माछा मार्न नपाइने र जङ्गलमा जान नपाइने अवस्था आएपछि बोटे समुदाय परम्परागत पेसाबाट विस्थापित हुँदै गएको कान्छीमायाले बताइन् । उनका अनुसार बोटे समुदायको परम्परागत पेसा माछा मार्ने र डुङ्गा चलाउने हो, तर पर्सा र चितवन राष्ट्रिय निकुञ्जको छेउबाट बग्ने राप्ती नदीमा माछा मार्न प्रतिबन्ध लगाइएपछि करिब ५० घर रहेको बोटे बस्ती रोजगारीविहीन बन्दै गएको छ ।

कान्छीमाया भन्छिन्, ‘माछाबिना हाम्रो संस्कारै रोकिन्छ, न जन्मोत्सव हुन्छ, न मृत्युसंस्कार ।’ उनका अनुसार राप्ती खोला र नजिकको जङ्गलमा आश्रित बोटेहरूका लागि पहिल्यै दिइएको माछा मार्ने अनुमतिपत्र (लाइसेन्स) दुई वर्षदेखि नवीकरण भएको छैन । करिब ३५ जनाले पाएको लाइसेन्स पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले नवीकरण नगरेपछि समस्या चुलिएको उनी बताउँछिन् ।

कान्छीमायाका अनुसार बोटे समुदायको जीवनयापनको माध्यम नै वनको कुरिलो, निगुरो, तामालगायत सङ्कलन गर्ने र बेचेर घर धान्नेमा उक्त कार्य निकुञ्जको नियमनले रोक लगाएको छ भने खोला किनारमा खोलिएको सामुदायिक माछापोखरी पनि गाउँपालिकाको सहयोग नपाउँदा बन्द भएको छ । वैकल्पिक रोजगारी खोज्दै बोटे समुदायका धेरैजसो सदस्य इँटाभट्टा, बालुवा सङ्कलन, खेतमा मजदुरी, बाख्रापालन, गाईपालन र भाडाको जग्गामा कृषिकार्यमा लागेका छन् । तर यसले दीर्घकालीन समाधान दिएको छैन ।

निकुञ्ज प्रशासनले नवीकरणका लागि सङ्कलन गरेको माछा मार्ने अनुमतिपत्र नदिएकाले तनाव भएको जितबहादुर बोटे बताउँछन् । उनी भन्छन्, ‘हामीलाई १५ सय कमाउन निकै मुस्किल पर्छ तर १५ सय पर्ने जाल निकुञ्जले खोसेर लान्छ, हामी रुँदै घर फर्कन्छौँ, कहिले त भोकै सुत्नुपर्छ ।’ अनुमतिपत्र नवीकरण भए जीवन धान्न सहज हुने उनी बताउँछन् ।

संस्कृति जोगाउन बालबालिकालाई परम्परागत ज्ञान दिँदै बोटे समुदाय
बोटे समुदायको सांस्कृतिक अस्तित्वसमेत सङ्कटमा छ । परम्परागत भाषा, रीतिरिवाज र संस्कार नयाँ पुस्तामा हस्तान्तरण नहुँदा लोप हुने अवस्था आएको छ ।

चितवनमा भाषा कक्षा सञ्चालन भए पनि मकवानपुरमा सरकारले पहल नगरिदिँदा आफूहरूले नै बालबालिकालाई सिकाउन थालेको कान्छीमायाले बताइन् । उनका अनुसार सामूहिक पूजा गर्ने, साउने सङ्क्रान्तिमा घाटमा पूजाआजा गर्ने, चण्डी पूर्णिमा, झाँक्रीपूजा, वाइपूजालगायत परम्परागत संस्कार बालबालिकालाई सिकाउने गरिएको छ । समुदायमा कूलपूजा र सेतो भाले चढाउने परम्परा रहेको कान्छीमायाको भनाइ छ ।

बोटे जातिको इतिहास प्रकृतिसँग नजिक छ । त्यसैले मनहरिका बोटेले देउराली सिमलको रुखको फेदमा सामूहिक पूजा गर्ने थलो बनाएका छन् । साउने सङ्क्रान्तिमा खोला, घाटमा गएर पूजा गर्ने चलन छ । खोलामा माछा मार्ने वा डुङ्गा चलाउने क्रममा कुनै अप्रिय घटना नहोस् भनेर पूजा गर्ने चलन रहेको मनहरि ७, प्रतापुरका जितबहादुर बताउँछन् । जितबहादुर बोटे समुदायका धामी पनि हुन् । बस्तीमा बिरामी पर्दा सुरुमा धूपअक्षता गरेपछि मात्र स्वास्थ्य केन्द्र लैजाने चलन यथावतै रहेको उनी बताउँछन् ।

कान्छीमायाका अनुसार उनको समुदायको आफ्नै मौलिक मुख्य पर्व भने खासै छैन । हिन्दू धर्मावलम्बीले मान्ने दसैँ, तिहार र तिज उनीहरूको पनि मुख्य चाडपर्व हो । हिन्दु धर्मावलम्बीका अन्य समुदायले झैँ आफूहरू यी चाड आपसमा शुभकामना आदानप्रदान गरी रमाइलोसँग मनाउने गरेको उनको भनाइ छ । ठुलो रुखको फेदमा ढुङ्गा राखेर त्यसैलाई देवता मानी पूजा गर्नुका साथै वैशाखमा झाँक्रीपूजा र भदौमा वायुपूजा गर्ने कान्छीमायाले बताइन् ।

पहिलापहिला वर्षको जुनसुकै समयमा मानिसको मृत्यु भए पनि भदौमा अन्तिम संस्कार गरिने कान्छीमायाको भनाइ छ । उनका अनुसार सिङ्गो समुदायलाई खुवाउनका लागि भदौमा जङ्गली फलफूल, माछा, मकै आदि हुने भएकाले उक्त महिनामा अन्तिम संस्कार गरिने भए पनि यो चलन भने हाल फेरिएको छ । मृत्यु संस्कारमा गीत गाउने चलन भने कायमै रहेको र नयाँ पुस्तालाई पनि सिकाइरहेको उनले बताइन् ।

घर छ, रोजगार छैन
राप्ती खोलामा माछा मारेर बिक्री गर्दै आएका बाटो समुदायलाई पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले खोलामा जाल हानेर माछा मार्न प्रतिबन्ध लगाएपछि उनीहरूको पेसा नै सङ्कटमा पर्दै गएको हो । केही वर्ष पहिले राप्ती र मनहरी खोलामा माछा मार्न पर्सा राष्ट्रिय निकुञ्जले अनुमतिपत्र दिएको थियो । तर, त्यो अनुमतिपत्र पनि दुई वर्षदेखि नवीकरण भएको छैन । पैंतीसजना बोटेलाई दिइएको अनुमतिपत्र नवीकरण गर्न भनेर पर्सा राष्ट्रिय निकुञ्जको आधाभार कार्यालयमा लगेको तर, नवीकरण भएर आएन ।

वनजङ्गलको भरमा जीविकोपर्जन गर्न पनि समस्या छ । सुरक्षाकर्मीले राष्ट्रिय निकुञ्जमा प्रवेश गर्न दिँदैनन् । सामुदायिक वनमा कुरिलो, अम्रिसोजस्ता कुरा छैनन् । माछा मार्ने अनुमतिपत्र नवीकरण नभएपछि उनीहरूले वैकल्पिक पेसाका रूपमा ज्यालामजदुरी गर्न थालेका छन् । वैकल्पिक पेसाका रुपमा यहाँका बोटे समुदायले मनहरि गाउँपालिकाको सहयोगमा सामुदायिक माछापोखरी निर्माण गरेका थिए तर, त्यो पनि एक वर्ष मात्र चल्यो । गाउँपालिकाले दोस्रो वर्षमा सहयोग नगरेपछि सामुदायिक पोखरी पनि सङ्कटमा परेको छ ।

पहिला दैनिकी चलाउन माछा मार्न जानुपर्ने भए पनि अहिले माछा मार्न पनि लुकीछिपी मात्र जाने गरेको विनुमाया बोटे बताउँछिन् । विनुमायाले जङ्गल र खोलामा धेरै जाने जाति भनेर चिनिएको आफ्नो समुदायमा पर्सा राष्ट्रिय निकुञ्जले उनीहरूलाई दिइएको माछा मार्ने अनुमतिपत्र नवीकरण गरिदिए आफूहरूको जीवनयापन सहज हुने बताइन् ।

उनका अनुसार मनहरिका बोटे समुदायले बाख्रा, गाईवस्तुपालन, खेती-किसानीलगायत काममा लागेर खोला र वनजङ्गल जान कम भएको छ । खोलामा गएर माछा मार्ने, जङ्गलमा गएर निगुरो, कुरिलोको जरा, तामालगायत सङ्कलन गरेर बेच्नुभन्दा अरुको जग्गा भाडामा लिएर खेतीपाती गरेर धानिएको घर अहिले सङ्कटमा भएको विनुमायाको भनाइ छ ।

नेपालमा बोटे जातिको बसोबास मकवानपुर, चितवन, नवलपरासी, तनहुँ, गुल्मी, लमजुङलगायत जिल्लामा मात्र पाइन्छ । चितवनको माडी क्षेत्र बोटे जातिको सबैभन्दा बढी बसोबास भएको क्षेत्र मानिन्छ । २०७८ को जनगणनाअनुसार देशभर बोटे जातिको जनसङ्ख्या ११ हजार २५८ छ ।