
नुवाकोटको तारकेश्वर गाउँपालिका ६ का अध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा निधन भएको छ । ज्वरो र निमोनियाले स्वास्थ्य प्रतिकूल भएसँगै वीर अस्पतालमा उपचारको क्रममा उनको सोमबार बिहान निधन भएको हो ।
गत जेठमा पत्थरीको शल्यक्रियापश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनीलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले सताएको थियो । नेकपा एमाले नुवाकोटको सचिवालय सदस्यसमेत रहेका रिमाल यसअघि २०७४ को निर्वाचनमा वडासदस्यमा निर्वाचित भएका थिए ।
उनको निधनप्रति श्रद्धाञ्जली प्रकट गदै तारकेश्वर गाउँपालिकाले आज शोक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारीले शोक वक्तव्य जारी गर्दै वडाध्यक्ष एवं कार्यपालिका सदस्य रिमालको निधनमा आज ‘तारकेश्वर शोकको दिन’ घोषणा गर्दै गाउँपालिका, वडा कार्यालयहरू, सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा शोक बिदा दिएर राष्ट्रिय झन्डा आधा झुकाउने उल्लेख गरिएको छ ।