
सांसदहरुले निर्माणाधीन संसद् भवनको काम म्याद थप भएको मितिमा समेत सम्पन्न हुन नसक्ने आशंका व्यक्त गरेका छन् ।
निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षणका लागि पुगेको संसदीय समितिका सदस्यहरुले सोमबार यस्तो आशंका गरेका हुन् । सरकारले आयोजनाको १४औं संशोधनबाट २०८२ पुस १६ गतेसम्म म्याद थप गरेको छ । तर फिनिसिङको काम जम्मा ५ प्रतिशत मात्रै सम्पन्न भएकाले अझै सकिन समय लाग्ने उनीहरुको अनुमान छ ।
राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अनुगमन गर्ने क्रममा अझै धेरै कामहरु गर्न बाँकी रहेको सांसदहरुले बताए । समितिका सभापति मायाप्रसाद शर्माले अझै धेरै काम गर्न बाँकी रहेकाले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरे । अब म्याद पुनः थप्ने गरी काम हुनु नहुने भन्दै निर्माण कम्पनीको ध्यानाकर्षण गराए । काममा धेरै नै ढिलासुस्ती भइरहेको आरोप लगाए ।
‘पुस १६ गतेसम्मका लागि म्याद थप भएको रहेछ । अब समयमै सम्पन्न हुन्छ कि हुँदैन ? अझै काम धेरै बाँकी छ । फिनिसिङको काम ढिलो हुन्छ, धेरै बाँकी छ । अब म्याद थप्ने गरी नहोस् । क्रमिक रुपले काम भइरहेको छ । तर ढिलासुस्ती छ,’ उनले भने ।
नेकपा एकीकृत समाजवादीकी सांसद गोमादेवी तिमल्सिनाले पटक-पटक म्याद थप भएपनि काम सन्तोषजनक नरहेको बताइन् । उनले अझै समयमै काम सम्पन्न हुनेमा आशंका व्यक्त गरिन् । ‘नयाँ संसद् भवनको निरीक्षण र अवलोकनका लागि हामी आएका छौं । योपटक आयौँ । तर प्रगति सन्तोषजनक छैन । पुस १६ गतेसम्म पनि सकिएला जस्तो लाग्दैन,’ उनले भनिन् ।
नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर विष्टले अझै काम सकिन दुई वर्ष लाग्ने देखिएको बताए । फिनिसिङको काम जम्मा ५ प्रतिशत मात्रै भएको उनको भनाइ छ । उनले भने, ‘निरीक्षण गर्दा ५ प्रतिशत मात्रै फिनिसिङ भएको छ । यो अझै सकिन्छ जस्तो लाग्दैन । अझ दुई वर्ष लाग्छ जस्तो लागेको छ ।’
नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी साहले पछिल्लो समय थपिएको पुस १६ गतेसम्ममा पनि काम सकिन गाह्रो रहेको बताइन् । सिंहदरबारभित्रको यो अवस्था छ भने बाहिरको अवस्था कस्तो होला ? भन्दै उनले प्रतिप्रश्न गरिन् ।
‘पछिल्लो समयमा एक वर्ष जुन म्याद थपिएको छ । यो थपिएको म्यादभित्र पनि सम्पन्न हुने स्थिति देखिँदैन । बहाना धेरै छन्,’ उनले भनिन्, ‘पटक-पटक म्याद थपिँदासमेत यो समयमा काम सकिने स्थिति छैन । सिंहदरबारभित्रको यो अवस्था छ भने बाहिरको अवस्था कस्तो छ भनेर सहजै अनुमान गर्न सकिन्छ । विकास निर्माणमा लापरबाही देखिन्छ, सरकारलाई नटेरेको देखिन्छ ।’
नयाँ निर्माणाधीन संसद् भवन निर्माण आयोजनाका निर्देशक सुनीलकुमार ठाकुरले आयोजनाको १४औं संशोधनबाट २०८२ पुस १६ गतेसम्म म्याद थप भएको र त्यहीअनुसार काम अघि बढिरहेको बताए । सिभिलका काम सकिसकेको र अब फिनिसिङका काम मात्रै रहेकाले त्यसका लागि आवश्यक सामग्रीहरु पनि जोहो भइसकेकाले समयमै सकिने विश्वास व्यक्त गरे ।
उनले भने, ‘आयोजनाको १४औं संशोधनबाट २०८२ पुस १६ गतेसम्म म्याद थप भएको छ । त्यहीअनुसार दुवै निर्माण व्यवसायीलाई काम सम्पन्न गर्नलाई कार्ययोजना दिएर काम गरिरहेका छौं । अधिकतम काम गर्ने हो । सिभिलका काम सकिसकेका छन् । फिनिसिङ काम बाँकी हो । त्यसको लागि चाहिने सामान जोहो भइसकेकाले समयमै काम सम्पन्न गर्नेछौँ ।’
सांसदहरुले सबैले जिम्मेवारी लिइ ताकेता गरेर भए पनि छिटोभन्दा छिटो सम्पन्न गराउने काममा लाग्नुपर्ने बताएका छन् ।