बिहीबार, १० मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश #नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश
समाचार

दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सक्रिय न्युज · १५ मिनेट अगाडि प्रकाशित
दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं, मंसिर १० :

गैरकानुनी रूपमा नेपाली श्रमिकलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित १० जनामाथि अनुसन्धान गर्न थप म्याद लिएको हो ।

सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूलाई थप पाँच दिन हिरासतमा राख्न आज अदालतले अनुमति दिएको जानकारी दिए ।

सिआइबीले गत मङ्सिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तत्कालीन मन्त्रीद्वय कुँवर र यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।

त्यसैगरी कागेश्वरी मनोहरा निवासी ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण निवासी ४० वर्षीय रवीन्द्र केसी, गोरखाका ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीका ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका छन् ।

सिआइबीका अनुसार मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकसँग ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । श्रमिकबाट रकम असुली गरी विदेश पठाउने कार्य तथा त्यससँग सम्बन्धित निर्णय प्रक्रियाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र विकास रानाभाटसहितका व्यक्तिले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ । पक्राउ परेका १० जनामाथि ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

यसै प्रकरणमा प्रहरीले आज पूर्वमुख्यसचिव एकनारायण अर्याललाई समेत पक्राउ गरेको छ । मलेसिया रोजगारीका नाममा भएको भनिएको आर्थिक अनियमितता, निर्णय प्रक्रियामा अधिकारीहरूको भूमिका र रकमको कारोबारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार