महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि सञ्चालन हुने १६ दिने अभियानको प्रारम्भसँगै ‘लिबर्टी थ्रु लेजिस्लेटिभ ट्रान्सपरेन्सी’ कार्यक्रम बिहीबार डिल्लीबजार कन्या क्याम्पसमा शुभारम्भ गरिएको छ। कानुन निर्माण प्रक्रियालाई नागरिकमैत्री, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यसहित युवालाई विधायिकी प्रक्रियामा सहभागी गराउने अभियान सुरु गरिएको हो।
विशेषगरी महिलालाई आफूलाई प्रत्यक्ष प्रभाव पार्ने कानुन तथा नीतिगत प्रक्रियाबारे सचेत बनाउँदै कानुन निर्माणमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने लक्ष्यसहित महिला क्याम्पसलाई कार्यक्रमस्थलका रूपमा छनोट गरिएको जनाएको छ।
कार्यक्रमका ऋगा शर्माले कानुन निर्माण प्रक्रिया नागरिकका लागि सहज र पहुँचयोग्य हुनुपर्नेमा जोड दिइन्। नेपाल ल क्याम्पसमा बीएएलएलबी अध्ययनरत तथा स्टुडेन्ट्स फर लिबर्टी (एसएफएल) को नेतृत्वका लागि राष्ट्रिय संयोजकसमेत रहेकी शर्माले कानुन निर्माणमा नागरिकको भूमिका केवल कानुनको पालना गर्नेमा सीमित नभई कानुन निर्माण र सुधारमा समेत हुनुपर्ने बताइन्।
सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको आधिकारिक वेबसाइटको व्यावहारिक प्रदर्शनमार्फत विद्यार्थीलाई कानुन तथा विधेयकसम्बन्धी जानकारी खोज्ने, विधेयक अध्ययन गर्ने र तिनमा आफ्ना सुझाव प्रस्तुत गर्ने प्रक्रियाबारे जानकारी दिइएको थियो। कानुन निर्माणमा नीति निर्माता र कानुनी क्षेत्रका व्यक्तिहरू मात्र नभई सर्वसाधारण नागरिकले समेत आफ्नो विचार र सरोकार राख्न सक्ने विषयलाई कार्यक्रममा प्राथमिकता दिइएको थियो।
अभियानअन्तर्गत विद्यार्थीको विधायिकी सहभागिता बढाउन कानुन सुधारसम्बन्धी प्रतियोगितासमेत सञ्चालन गरिने भएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीले कुनै विद्यमान कानुन संशोधनका लागि प्रस्ताव तयार गर्न वा मन्त्रालयमा विचाराधीन कानुनको मस्यौदा विधेयकमा सुधारका सुझाव प्रस्तुत गर्न सक्नेछन्।
प्रतियोगितामा उत्कृष्ट प्रस्ताव प्रस्तुत गर्ने सहभागीलाई प्रथम, द्वितीय र तृतीय स्थानका लागि क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताले विद्यार्थीमा कानुनको अध्ययन, विश्लेषण, आलोचनात्मक सोच र सार्वजनिक नीतिमा रचनात्मक योगदान गर्ने क्षमता विकास गर्ने अपेक्षा गरिएको छ।
स्टुडेन्ट्स फर लिबर्टी विद्यार्थी नेतृत्वमा आधारित अन्तर्राष्ट्रिय संस्था हो। व्यक्तिगत स्वतन्त्रता, सीमित सरकार र नागरिक अधिकारका पक्षमा युवालाई जागरूक तथा नेतृत्वदायी बनाउन प्रोत्साहित गर्दै आएको संस्थाको दृष्टिकोणलाई विधायिकी सहभागितासँग जोडेर अभियान अघि बढाइएको हो।
कानुन निर्माण प्रक्रियामा नागरिकको पहुँच र सहभागिता विस्तार गर्दै विधायिकी पारदर्शिता तथा सार्वजनिक परामर्शको संस्कृतिलाई संस्थागत गर्ने अभियानको दीर्घकालीन लक्ष्य रहेको छ। विशेषगरी युवालाई आफूलाई प्रभावित गर्ने कानुनबारे जानकारी राख्ने मात्र नभई त्यसको निर्माण र सुधारमा समेत सक्रिय भूमिका निर्वाह गर्न सक्षम बनाउने अभियानको अपेक्षा छ।
क्याम्पस प्रमुख अपराजिता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा डिल्लीबजार कन्या क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. रुद्र शर्मा प्रमुख, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका निवर्तमान सचिव उदय राज सापकोटा र संघीय संसद्, राष्ट्रिय सभाका निवर्तमान सचिव राजेन्द्र फुयालको उपस्थिति रहेको थियो।