काठमाडौं, साउन २१ :

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले भीमबहादुर तामाङ र सुस्मिता थापामगरलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड-२०८१ बाट बुधबार सम्मान गरेको छ । पुरुषमा भीम तथा महिलामा सुस्मिताले वर्ष उत्कृष्ट खेलाडी अवार्डसहित नगद पुरस्कार पाए ।

भीमले २४औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण जितेका थिए । त्यही प्रतियोगितामा सुस्मिताले २ स्वर्ण जितेकी थिइन् ।

महासंघले आफ्नो २८औं वार्षिकोत्सवमा वर्ष खेलाडीसहित वर्ष उत्कृष्ट प्रशिक्षक, प्रदेश संघ र जिल्ला संघलाई पनि सम्मान गरेको थियो । प्रशिक्षकमा आकाशचन्द्र घर्ती मगर, प्रदेश संघमा गण्डकी र जिल्ला संघमा गुल्मी उत्कृष्ट चुनिए ।

सोही अवसरमा गत अगस्त १९ देखि २६ तारिखसम्म भारतमा भएको दसौं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका स्वर्ण विजेता किशोर श्रेष्ठ र राजमन्दिर श्रेष्ठ तथा रजत विजेता चन्द्रबहादुर तामाङ पनि सम्मानित भए ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य अञ्जन धमला, आईटीएफका अध्यक्ष प्रवीणकुमार कार्की, महासचिव घमबहादुर थापालगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने क्रममा यसअघि महासंघले भक्तपुरको कौशलटारस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना खुवाएको थियो । रक्तदान पनि गरेको थियो ।