
एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यू-२२ उमेर समूहमा नेपालका अर्पिल राना कास्य पदकमै सीमित भएका छन् ।
पुरुष ५० केजी तौलसमूहको सेमिफाइनलमा अर्पिल जापानका मुक्केवाज सोदाई कोटोसँग ५-० ले पराजित भएपछि कास्यमा सीमित भएका हुन् ।
एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा यसअघि अर्पिलले प्रिक्वाटरफाइनलमा साउदी अरबका इब्राहिमलाई ५-० तथा भुटानका किन्ले फुन्चोलाई ४-१ ले हराउँदै सेमिफाइनलमा पुगेका थिए ।
नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले स्वर्णकै प्रबल दाबेदार जापानका खेलाडीसँग अर्पिलले राम्रो प्रदर्शन गरेको बताए ।
‘जापानका खेलाडी आफ्नो तौलसमूहका स्वर्णका प्रबल दाबेदार हुन् । बलियो प्रतिद्वन्द्वीसँग अर्पिलले राम्रो खेलेका हुन्,’ उनले भने, ‘अर्पिल राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन-२०२० को विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् । यो प्रशिक्षणले अर्पिल मात्र होइन, धेरै खेलाडीको प्रदर्शनमा उल्लेख्य सुधार ल्याएको छ ।’