काठमाडौं, साउन २३ :

मच्छिन्द्र क्लबले जारी एन्फा यू-१६ युथ लिगमा आठौं जित निकाल्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रवार न्युरोड टिम (एनआरटी) क्लबमाथि २-० को जित निकाल्दै मच्छिन्द्र लिगको अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

मच्छिन्द्रको जितमा राहुलकुमार योञ्जन र सुदीप ठकुरीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो । जितसँगै मच्छिन्द्रले १२ खेलबाट २६ अंक जोडेको छ । एनआरटी समान खेलबाट १२ अंकका साथ दशौं स्थानमा छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा दुई गोल निस्कियो । खेलको ६१औं मिनेटमा राहुलको गोलबाट मच्छिन्द्रले अग्रता लिएको थियो । फ्रिकिक प्रहारबाट आएको बललाई गोविन्द विकको सट पहिलो बारमा लागेर फर्किन पुग्यो ।

सोही बल नियन्त्रणमा लिएका राहुलले पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै जाली चुमाएका हुन् । त्यसपछि गोलका लागि केही अवसर सिर्जना भए । मच्छिन्द्र साँघुरो जिततर्फ अग्रसर थियो । तर इन्जुरी समयमा सुदीपले गोल गर्दै मच्छिन्द्रलाई २-० को जित पक्का गरे ।

लिगमा १२औं चरणका खेल सकिँदा विभागी टोली नेपाल पुलिस क्लब ३१ अंकसहित शीर्ष स्थानमा छ । मच्छिन्द्र दोस्रो, संकटा तेस्रो र फ्रेन्ड्स क्लब चौथो स्थानमा छन् ।

शुक्रबारै भएको दोस्रो खेलमा श्रीभगवती क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २-१ ले हरायो । तीनै गोल पहिलो हाफमा सम्भव भयो ।

आर्मीले अग्रता जोगाउन नसक्दा जारी लिगमा ११औं हार बेहोरेको हो । आर्मीले एक मिनेट पनि नबित्दै सिर्जन मल्लको गोलबाट अग्रता लियो । श्रीभगवतीका डिफेन्डरबाट सिर्जनले बल खोस्दै ३१ सेकेन्डमै गोल गरेका हुन् । तर त्यो अग्रता लामो समयसम्म टिक्न सकेन ।

सातौं मिनेटमा श्रीभगवतीले फ्रिकिकमार्फत गोल फर्कायो । कप्तान अनिल परियारले करिब २५ यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक प्रहार गर्दै बललाई जाली चुमाएका हुन् ।

पहिलो हाफको थप समयमा श्री भगवतीले दोस्रो गोल गर्दै अग्रता लियो । सबिर श्रेष्ठले उपलब्ध गराएको उत्कृष्ट पास नियन्त्रणमा लिँदै निशान्त थानेटले गोल गरेका हुन् ।

त्यसपछि पहिलो हाफमा श्रीभगवती २-१ अगाडि रह्यो । तर दोस्रो हाफमा थप गोल हुन सकेन र श्रीभगवतीले १३औं खेलमा चौथो जित निकाल्यो । श्रीभगवती क्लब १० अंकसहित दशौं स्थानमा उक्लिएको छ । आर्मी भने १३ खेलबाट ६ अंक जोड्दै १३औं स्थानमा यथावत् छ ।