
महालेखा परीक्षक तोयम रायाले विश्व विद्यालयहरुले ८/१० वर्षदेखि लेखापरीक्षण नगरेको बताएका छन् ।
सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षक रायाले आगामी दिनमा विश्व विद्यालयसहित सबै इकाइहरुको अडिटलाई प्राथमिकतामा राख्ने बताए । उनकाअनुसार लामोसमयदेखि रहेको त्यस्तो अवस्थालाई हटाउँदै दुई/चारवटा बाहेक अहिले प्रायःको लेखा परीक्षण गरिएको बताए ।
संघीय निकायहरुको बेरुजु बढ्नेक्रम जारी छ । यसलाई घटाउन प्रभावकारी कार्ययोजना बनाएर लाग्नुपर्ने आवश्यकता छ । रायाले १० वटा मन्त्रालयको ९१ प्रतिशत बेरुजु देखिनु राम्रो नभएको बताउँदै बेरुजुलाई शून्यमा झर्ने गरी कामकारबही अघि बढाउनुपर्नेमा जोड दिए ।
‘केही समय अघिसम्म १ सय बढी त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न एकाइहरुको अडिट हुन सकेको रहेनछ । गत असार मसान्तभित्रै अहिले अडिट अहिले सकिएको छ । आगामी दिनमा सबै निकाय, एकाइहरुको लेखा परीक्षण गरिनेछ,’ उनले भने ।
महालेखा परीक्षक रायाले हरेक वर्षका महालेखाका प्रतिवेदनहरु लेखासमितिमा छलफल हुनुपर्ने बताए । उनकाअनुसार एउटा वर्षको प्रतिवेदनमा छलफल गर्दा त्यही प्रकृतिको अरुअरु वर्षको प्रतिवेदनमा पनि केके थियो भन्ने छुटिरहेको छ ।
त्यसैले ती विषयमा गहन रुपमा छलफल गर्नुपर्छ । रायाले वार्षिक प्रतिवेदन बनाउँदै गर्दा सचिवहरुसँग राय सुझाव मागिने गरिएको भए पनि त्यसको रेस्पोन्स नआउने गरेको गुनासो गरे । समिति बैठकमा रायाले मन्त्रालयहरुमा सरुवा भएर सचिवहरु जाँदा बेरुजुका बारेमा चासो देखाउनुपर्छ । सचिवहरुले तथ्यांक मागेर बेरुजु फस्छ्योटमा गम्भीतापूर्वक लाग्नुपर्ने रायाको भनाइ रहेको छ ।