
कागेश्वरी मनोहरा नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्दै स्थानीय सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र गुणस्तरीय बनाउने उद्देश्यले एकदिने विशेष अभिमुखीकरण तालिम दिएको छ।
मंगलबार नगरपालिका भवनमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले स्थानीय तहमा सेवा प्रवाह निरन्तर भइरहे पनि कार्यसम्पादनका क्रममा कानुनी, नीतिगत तथा प्रक्रियागत अन्योल र जटिलताहरू बारम्बार सामना गर्नुपरेको बताए।
उनले कार्यालयको कार्यसम्पादनका क्रममा कतिपय विषयमा कानुनी दुविधा उत्पन्न हुने, समस्या समाधानका लागि कहाँ, कसलाई र कसरी परामर्श लिने भन्ने अन्योल रहने गरेको उल्लेख गरे। यस्ता जटिलताले समयमै समाधान नपाए कार्यालयको कार्यसम्पादनसँगै संस्थाको गरिमामा समेत असर पर्न सक्ने उनको भनाइ थियो।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले आफूलाई जानकारी नभएका वा जटिल लागेका विषयहरू समयमै बुझेर समाधान गर्न सके कार्यसम्पादन अझ प्रभावकारी र गुणस्तरीय बन्ने विश्वास व्यक्त गरे। जनप्रतिनिधि र कर्मचारी एउटै उद्देश्यका साथ सहकार्य गरेर अघि बढ्नुपर्ने भएकाले सामूहिक छलफलमार्फत समस्या समाधान गर्ने यस्तो अभिमुखीकरण उपयोगी हुने उनले बताए।
उनले आर्थिक वर्षको अन्तिम समय अर्थात् असार मसान्तमा कार्यालयहरूमा कार्यबोझ र सेवाग्राहीको चाप अत्यधिक हुने भएकाले सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउन सबै कर्मचारी जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिए। यही समय सबैभन्दा चुनौतीपूर्ण हुने, कानुनी परामर्शको आवश्यकता पनि बढी पर्ने भएकाले व्यस्त कार्यतालिकाका बीच समय व्यवस्थापन गरेर अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे।
कार्यक्रममा वरिष्ठ कानुनी विज्ञ काशिराज दाहालले मुख्य प्रशिक्षक तथा सहजकर्ताका रूपमा सहजीकरण गरेका थिए। प्रशिक्षणका क्रममा स्थानीय तहको कार्यसम्पादनमा देखिने कानुनी तथा प्रक्रियागत विषयमा विस्तृत जानकारी दिइएको थियो।
सहभागी जनप्रतिनिधि तथा विभिन्न शाखाका कर्मचारीहरूले दैनिक कार्यसम्पादनका क्रममा भोग्दै आएका कानुनी अस्पष्टता, नीतिगत अन्योल तथा व्यावहारिक समस्याहरू प्रस्तुत गर्दै समाधानका उपायबारे छलफल गरेका थिए।
नगरपालिकाले यस प्रकारका क्षमता विकासमूलक कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीको कार्यदक्षता अभिवृद्धि हुनुका साथै स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।