काठमाडौं, साउन २४ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्ने कुरा मानवअधिकारको विषय भएको बताएका छन् ।

विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले इन्टरनेटको पहुँच सबैले प्राप्त गर्न सक्ने बनाउनुपर्ने बताए । उनले इन्टरनेट पहुँचको विषय मानवअधिकार र मौलिक अधिकारका रुपमा  संयुक्त राष्ट्रसंघले सन् २०१६ मा पास गरिसकेको बताए ।

उनले नेपाल सरकारले टेलिकमको पहुँचबाट नेपालको एउटा पनि घर छुट्नु हुँदैन भनेर काम गरिरहेको बताए । अहिलेलाई नेपालभर फोरजीको पहुँच पुर्‍याउने र फाइभजी चालु आवमै काठमाडौं र पोखरा सहरमा पुर्‍याउने गरी सरकारले काम गरिरहेको बताए । उनले फाइभ जी टेक्नोलोजी प्रयोग नगरिए एआईको सही प्रयोग हुन नसक्ने बताए ।

‘अहिलेलाई नेपालभर नै फोरजी एक्सेस पुर्‍याउने, फाइभजी टेक्नोलोजी प्रयोग नगरिए एआईको सही प्रयोग हुनै सक्दैन,’ उनले भने, ‘अहिलेको फोरजीभन्दा दोब्बर फास्ट हुन्छ । फाइभजी टेक्नोलोजी यस वर्ष हामी काठमाडौं र पोखरा सहरमा प्रयोगमा ल्याउँदै छौँ । अर्कोपटक अरु सहरमा लैजान्छौं ।’

मन्त्री गुरुङले सबै नेपालीले इन्टरनेटको प्रयोग गर्नसक्ने बनाउनु आजको सरकारको दायित्व भएको दाबी गरे ।