काठमाडौं, साउन २७ :

‘कुलिङ अफ पिरियड’ कारण प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिने मनस्थितिमा पुगेका छन् । 

समितिले सर्वसम्मत पारित गरेको दुई वर्षे 'कुलिङ अफ पिरियड' को प्रावधानमा छलछाम भएपछि त्यसमा सभापतिको भूमिकालाई मध्यनजर गर्दै खतिवडा राजीनामा दिने मनस्थितिमा पुगेका हुन् ।

निजामती  कर्मचारीले सेवानिवृत्त भएपछि दुई वर्षसम्म संवैधानिक आयोग, सरकारी लगायतका नियुक्ति लिन नपाउने गरि समितिले 'कुलिङ अफ पिरियड'को व्यवस्था पारित गरेको थियो । तर, विधेयकको प्रतिवेदन लेखनका क्रममा समितिले सर्वसम्मत पारित गरेको प्रावधानलाई हटाइएको थियो । छलछामको विषयलाई लिएर सभापति खतिवडामाथि शंका र आलोचना भएपछि संसद्ले छानबिन विशेष समिति बनाउन बाध्य भएको थियो ।

कांग्रेस सहमहामन्त्री जीवन परियार नेतृत्वमा संसदीय विशेष समितिले राजनीतिक र नैतिक जिम्मेवारी सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुराले लिनुपर्ने गरी किटान गरेको थियो ।