कैलाली, साउन २८ :

कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । गृहमन्त्री रमेश लेखकले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनाइएको बताए।  

बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यसबारेमा जानकारी दिएका हुन्। समितिले तोकिएको अवधिभित्र प्रतिवेदन पेस गर्ने र सो प्रतिवेदनका आधारमा दोषीमाथि कानुनी कारबाहीसहित आवश्यक कार्य हुने पनि उनले स्पष्ट पारे।

साउन २२ गते राति भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएका थिए। तीमध्ये अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइएको छ । दुई जनाको उपचार ट्रमा सेन्टरमा र एक जनाको त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ।

दुई ब्लक छुट्याउने पर्खाल तोडफोड गरी कैदीबन्दीहरूले ब्लक ‘बी’ मा पुगेर त्यहाँका बन्दीलाई कुटपिट गरेका थिए। घटनामा संलग्न समूहका १७ जना नेतृत्वकर्तालाई अन्यत्र स्थानान्तरण गरिएको छ ।