
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् ।
निजी विद्यालयको संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र एन प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा सबै तहका समितिलाई आन्दोलनको आवश्यक तयारी गर्न आग्रह गरिएको छ ।
घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत आज (बिहीबार) पहिलो दिन देशैभरिका पालिका प्रमुख र शिक्षा शाखामा ज्ञापनपत्र बुझाइँदै छ ।
भोलि (शुक्रबार) जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय एकाइमा ज्ञापनपत्र बुझाउने, भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाइने कार्यक्रम पनि घोषणा गरिएको छ ।
भदौ २ गते आफ्ना क्षेत्रका सांसदहरूलाई ज्ञापनपत्र बुझाउने, भदौ ३ गते पालिका, ४ गते जिल्ला, ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक गर्नेलगायत कार्यक्रम तय गरिएका छन् ।