
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) ले १५ करोड ४५ लाख अमेरिकी डलर (करिब २१ अर्ब ६३ करोड रुपैयाँ) को विद्युत् प्रसारण लाइन निर्माणका लागि दुई कम्पनीसँग सम्झौता गरेको छ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा रातमाटे-नयाँ दमौली लाइनको लागि एञ्जेलिक स्किपर जेभी र नयाँ दमौली-नयाँ बुटवल लाइनको लागि वाइबा सलासर जेभीसँग सम्झौता भएको हो।
एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत सञ्चालन हुने १८० किमी लामो ४०० केभी प्रसारण लाइन ४२ महिनाभित्र निर्माण सम्पन्न गरिनुपर्नेछ।
सम्झौता कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्याय, एमसीसीका कार्यवाहक उपाध्यक्ष, अमेरिकी दूतावासका प्रतिनिधिहरू तथा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको उपस्थिति रहेको थियो।
अमेरिकी सहयोगमा सञ्चालित परियोजनाले नेपालको ऊर्जा पहुँच, विश्वसनीयता तथा क्षेत्रीय विद्युत् व्यापारमा सुधार ल्याउने लक्ष्य लिएको छ।
नेपाल र अमेरिकी सरकारको सहलगानीमा सञ्चालित ६९.७ करोड डलरको एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत प्रसारण लाइन र सडक मर्मत आयोजनाहरू कार्यान्वयनमा छन्।