
कारागार कार्यालय रुपन्देहीले सहकारी ठगी प्रकरणमा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुरक्षा अवस्थालाई मध्य नजर गरी प्रारम्भदेखि नै छुट्टै बन्दीगृह (अलगै एउटा कोठा) मा राखिएको जनाएको छ ।
कारागार कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी विगत चार महिनादेखि सहकारी ठगी तथा संगठित अपराध मुद्दामा थुनुवाका रुपमा रहेका रवि लामिछाने छुट्टै कोठामा राखिनुका साथै उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको जनाएको छ ।
‘कोठाको झ्यालमा साबिकमा रहेको प्लाइउड हटाई जाली राखिसकिएको छ । निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ,’ कारागार प्रशासक सुरेश भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कारागार प्रशासनले बिरामी बन्दीहरुको स्थानीय अस्पताल र आवश्यकताअनुसार चिकित्सकको सिफारिसमा स्थानान्तरणसमेत गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आएको जनाएको छ । ‘सबै बन्दीहरुबीच मेलमिलाप कायम गरी शान्ति सुरक्षा र मानवअधिकारमैत्री वातावरण सिर्जना गर्न यस कारागार कार्यालय प्रतिबद्ध रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कारागारभित्रका समाचार प्रकाशन गर्दा यस कार्यालयसँग आधिकारिक सूचना लिई सत्य तथ्य समाचारहरू प्रकाशन गरिदिनु हुन कारागार कार्यालय सम्बन्धित सबैमा अनुरोध गर्दछ ।’
विगत केही दिनयता सञ्चर माध्यमहरुमा रुपन्देही कारागारका विषयमा विभिन्न समाचारहरु प्रकाशित भएपछि विज्ञप्तिमार्फत कार्यालयले ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।
कुल २५० बन्दी राख्ने क्षमता रहेको रुपन्देही कारागारमा हाल ६४० जना छन् । क्षमताभन्दा तीन गुणा बढी बन्दी रहेको अवस्थामा पनि यस कार्यालयले कारागारमा उपलब्ध स्रोत-साधनको अति उत्तम परिचालन गरी कानुनबमोजिमका सेवा-सुविधा समयमै उपलब्ध गराउँदै आएको जनाएको छ ।
‘कारागारको भौतिक संरचना र क्षमताअनुसार बन्दीहरुलाई खाने, बस्ने, हिँडडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा/पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तहरुलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रुपमा उपलब्ध गराउँदै आएको छ,’ विज्ञप्तिमा छ ।
कारागार ऐन २०७९ तथा कारागार नियमावलीबमोजिम अशक्त, अपांग, ज्येष्ठ नागरिक तथा सुरक्षा जोखिम भएका व्यक्तिहरुलाई थप सुविधासमेत उपलब्ध गराउने गरिएको छ । थप सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुनबमोजिमका सकारात्मक विभेदबाहेक बन्दीहरुको बीचमा अन्य विभेद गरिएको छैन । कारागार प्रशासनको तर्फबाट समय समयमा कारागारभित्रको वस्तुस्थिति अवलोकन गर्ने, बन्दीहरुको गुनासो सुन्ने र स्रोतसाधनले भ्याएसम्म त्यसको सम्बोधन गर्ने कार्य गरिँदै आएको रुपन्देही कारागार कार्यालयले जनाएको छ ।