
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको निर्देशनमा खटिएको संयुक्त अनुगमन टोलीले सखुवा प्रसौनी गाउँपालिका–२ को कटेया गाउँमा छापा मारेर १९१ बोरा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ।
बरामद गरिएको मल जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने मल भण्डारण गर्ने साह मोहम्मद अन्सारी र युनुस अन्सारी फरार रहेका छन्।
टोलीले दुई घरमा छापा मार्दा साह मोहम्मद अन्सारीको घरबाट १४१ बोरा (डीएपी ९, पोटास १८, फस्फेट ११४) र युनुस अन्सारीको घरबाट ५० बोरा (डीएपी २७, पोटास २३) मल फेला परेको हो।
टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड का प्रतिनिधिहरू सहभागी थिए।उनीहरूले सरकारी अनुदानको मल भण्डारण गरी महँगो मूल्यमा बिक्री गर्दै आएको गुनासोपछि छापा मारिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।
यसअघि प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लामा मल वितरणमा हुने अनियमितता रोक्न कृषि सहकारी संस्थाका सञ्चालक, स्थानीय तहका उपप्रमुख र कृषि शाखा प्रमुखलाई बोलाएर पारदर्शी वितरणका लागि निर्देशन पनि दिएका थिए।