
सरकारले नागढुंगा-सिस्ने खोला सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि उपभोग दस्तुर तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दस्तुर निर्धारणको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिएका छन्।
निर्धारित दस्तुरअनुसार कार/भ्यान काठमाडौं आउँदा ६५ रुपैयाँ बाहिरिँदाको ६० रुपैयाँ बुझाउनुपर्ने छ । यस्तै मिनीबस/मिनीट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैया तिर्नुपर्ने छ ।
यसैगरी बस/ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र जाँदा २०० रुपैयाँ बुझाउनुपर्नेछ ।यस्तै भारी उपकरण काठमाडौं आउँदा ६०० रुपैयाँ र बाहिरिंदाको बेला २५० रुपैयाँ तिर्नुपर्ने छ ।
नेपालकै पहिलो सडक सुरुङमार्ग नागढुंगा-सिस्ने खोला सुरुङ आगामी पुस महिनादेखि सञ्चालनमा आउने तयारीमा छ। हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने निर्माण सम्पन्नको सरकारी समयसीमा कात्तिक तोकिएको छ ।
यद्यपि निर्माण कम्पनीले दसैंसम्म नै सबै काम सक्ने दाबी गर्दै आएको छ। ठेक्का प्रक्रियाबाट सुरुङमार्ग सञ्चालन गर्ने निकाय चयन भएपछि प्रयोगमा आउनेछ। सरकारको यो निर्णयले सुरुङमार्ग सञ्चालनपछि सवारी आवागमन र भौतिक पूर्वाधार उपयोगमा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।