
काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । महानगरको नियमित अनुगमनका क्रममा बिक्रीका लागि तयार गरेको मममा धातुको औंठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि कारबाही गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नूरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक-पटक महानगरको निर्देशन उल्लंघन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताए । ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको हो,’ न्यौपानेले जनाए ।
महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम सात दिनभित्र बैंकमार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री-वितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई निर्देशन दिइएको छ ।