काठमाडौं, साउन २९ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक  सचिन्द्रकुमार यादवविरुद्ध  ९७ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेल जानकारी दिए ।

आयोगका प्रवक्ता पौडेलका अनुसार २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा वैधानिक स्रोतबाट पुष्टि नभएको करिब ९६ लाख ८५ हजार ५५३ रूपियाँ १९ पैसा बराबरको सम्पत्ति आर्जन भएको प्रमाणित भएको हो।

यो अवधिमा उनी र परिवारको नाममा जम्मा  दुई करोड ६८ लाखभन्दा बढीको आय देखिए पनि खर्च तथा लगानी रकम तीन करोड ६५ लाखभन्दा बढी पुगेको र स्रोत नखुलेको सम्पत्ति पाइएको आयोगले जनाएको छ ।  सार्वजनिक पदमा रहँदा गैरकानुनी सम्पत्ति  श्रीमती आशाकुमारी यादवको नाममा राखिएको पाइएकाले उनलाई समेत प्रतिवादीका रूपमा कायम गरिएको छ। यादव नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा कार्यरत थिए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, बिगो असुल उपर जरिवाना, गैरकानुनी सम्पत्ति जफत तथा झुट्टा सम्पत्ति विवरण पेस गरेको अभियोगमा पनि सजायको माग दाबी गरिएको छ।