काठमाडौं, साउन २९ :

जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता गर्ने सहमति भएको छ।जसपाको तर्फबाट अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी नेपालको तर्फबाट अध्यक्ष राजेन्द्र महतोले सहमति पत्रमा हस्ताक्षर गरे।  काठमाडौंमा बिहीबार दुवै पार्टीले कार्यगत एकताको पत्रमा सहमति जनाएका हुन्।

सहमति अनुसार जुन दलले बैठकको अध्यक्षता गरेको हुन्छ सोही दलले पत्रपत्रिका, टेलिभिजन, एफ.एम.लगायतका सञ्चार माध्यमहरूको समन्वय र बैठकका निर्णयहरूको बिफिङ गर्ने छन्।

दुई दलबीचको केन्द्रीय संयोजन समितिले पारित गरी जारी गरेका निर्देशनहरू तथा प्रदेश र जिल्ला संयोजन समितिहरूले गरेका निर्णयहरू दुवै दलले पालना गर्नुपर्नेछ ।

यस्तै एउटा पार्टीले अर्को पार्टीमाथि आरोप प्रत्यारोप गर्न तथा कार्यगत एकताको नीति विरुद्ध सार्वजनिक टिकाटिप्पणी गर्न नपाइने उल्लेख छ। अन्य कुनै दलसँग छुट्टै सहकार्य र मोर्चा निर्माण गर्नलाई भने यो कार्यगत एकता वाधक नहुने बताइएको छ।