काठमाडौं, साउन २९ :

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नगरकोट निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य भएको बताएका छन् ।

नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा निर्माण गरिएको नगरकोटको  वृत्तचित्र हस्तान्तरण कार्यक्रममा उनले निजी क्षेत्रको अग्रसरतामा विकास भएको लोकप्रिय पर्यटनस्थल नगरकोटलाई पुनः ब्रान्डिङ गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गरिने प्रतिबद्धता जनाए ।

सीईओ जोशीले भने, ‘होटेल व्यवसायीहरुको आपसी प्रतिस्पर्धाबीच पनि सहकार्यमा आधारित उत्कृष्ट नमुना पर्यटकीय गन्तव्यको नगरकोट स्थापित छ । आज जुन सहकार्यमा वृत्तचित्र बनेको छ, यसलाई हामीले अन्तर्राष्ट्रिय मञ्‍चहरुमा विदेशी पर्यटकहरुलाई विभिन्न इभेन्ट्सहरुमा प्रदर्शन गर्नेछौं ।’

नगरकोटमा निजी क्षेत्रले राम्रो लगानी गरेको र सडक सञ्‍जालमा पनि राम्रो भइसकेको उल्लेख गर्दै सीईओ जोशीले नगरकोट जाने पर्यटकहरुलाई गुणस्तरीय सेवामा ध्यान दिनुपर्नेसमेत बताए । नगरकोटका ठुला होटेलहरु क्लब हिमालय, होटेल कन्ट्री भिल्ला, होटेल मिस्टिक माउन्टेन, काभ्या हिमालयाज्, सोल्टी तायो रिसोर्टको सहकार्यमा ‘बियोन्ड सनराइज्, सनसेट एन्ड दी हिमालय’ शीर्षकमा तयार गरिएको वृत्तचित्र नेपाल पर्यटन बोर्ड, नगरकोट भ्रमण वर्ष २०८२ र नगरकोट नाल्दुम पर्यटन विकास समितिलाई हस्तान्तरण गरिएको हो ।

नगरकोटको ऐतिहासिक स्थलहरु, प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना समेटेर तयार पारिएको वृत्तचित्रले पर्यटन प्रवर्द्धनमा टेवा पुग्‍ने क्लब हिमालयका सञ्‍चालक योगेन्द्र शाक्यले विश्‍वास व्यक्त गरे । पर्यटकीय गन्तव्यका रुपमा ख्याति प्राप्त एवं मोडल गन्तव्यको रुपमा परिचित नगरकोट देशभित्र र विश्‍व पर्यटन बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले  वृत्तचित्र निर्माण गरिएको पनि शाक्यले जानकारी दिएका छन् ।

वरिष्ठ होटेल व्यवसायी शाक्यले थपे, ‘नगरकोट अब कम्पोरेटिङ मोडल (प्रतिस्पर्धाका साथै सहकार्य) मा अगाडि बढिरहेको छ । चार नगरपालिका मिलेर पहिलोपटक एउटै गन्तव्य प्रवर्द्धन गर्ने यो पहल ऐतिहासिक मान्‍न सकिन्छ ।’ उनका अनुसार नगरकोटमा पुराना होटेलदेखि नयाँसम्म उच्चस्तरीय सुविधासहितको लगानी भइरहेको छ, जसलाई नमुना स्वरूप नेपालका अन्य गन्तव्यमा पनि विस्तार गर्न सकिन्छ । नगरकोटको विगत स्मरण गर्दै उनले भने, ‘सन् १९८८ मा म यहाँ आउँदा यो नाङ्गो डाँडा थियो, हिमाल स्पष्ट देखिन्थ्यो । तर जलवायु परिवर्तनका कारण हिउँ पग्लिन थालेको छ । नगरकोटलाई अब केवल सनराइज-सनसेट मात्र नभई यसका अन्य पक्षमा पुनः ब्रान्डिङ गर्नुपर्ने समय आएको छ ।’

भिडियो हस्तान्तरण कार्यक्रममा मन्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर बाइबाले नगरकोट तीन जिल्लाका चार पालिकाको संगमस्थल भएकाले यसको प्रवर्द्धन महत्त्वपूर्ण रहेको बताए । नेपाल बोर्डका सदस्य नरेन्द्रदेव भट्टले नगरकोटको विकासमा निजी क्षेत्रको उल्लेखनीय योगदान रहेको भन्दै ‘दृष्टिविहीनले समेत हिमालको सौन्दर्य अनुभव गर्न सक्ने गन्तव्य’ भएको उल्लेख गरे ।

बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा निर्माण गरिएको वृत्तचित्र सार्वजनिक-निजी साझेदारीको उत्कृष्ट नमुना भएको बताए । उनले यस अभियानअन्तर्गत उक्त भिडियोसँगै अन्य प्रचारात्मक गतिविधि र अन्तर्राष्ट्रिय स्तरका करिब ५४ कार्यक्रममार्फत नगरकोटलाई विश्वपर्यटन बजारमा थप आकर्षक रूपमा प्रस्तुत गरिने समेत बताएका छन् ।