काठमाडौं, साउन ३१ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देहीको भैरहवा कारागारबाट नख्खु कारागारमा सरुवा हुनु अघि आफू बसेको कोठाको भित्तामा लेखिएको सन्देश पार्टी नेताहरुलाई सुनाएका छन्।

भैरहवाबाट काठमाडौं आउँदै गर्दा गौतमबुद्ध विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झासँगको छोटो भेटमा उनले भित्तामा ‘अब कृष्ण जन्मिने छैनन्, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ’भन्ने सन्देश लेखेको सुनाएका हुन् ।

पार्टी प्रवक्ता झाका अनुसार, कारागारमा भेट्न प्रयास गर्दा अनुमति नपाएपछि विमानस्थलमै उनीहरुबीच केहीबेर कुराकानी भएको थियो। सो क्रममा लामिछानेले राजनीतिक प्रतिशोधको बीचमा पनि आफू दृढ रहेको बताएका थिए।

उनले भनेका छन्, ‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह नै लगे पनि डराउँदिन, यो मेरो देश हो, मेरो भूमि हो।’

१२६ दिनसम्म भैरहवा कारागारको थुनामा बसेका लामिछानेलाई उनको माग बमोजिम कारागार स्थानान्तरण गरिएको हो । लामिछानेले डिल्लीबजार कारागारमा सरुवा हुन चाहे पनि सरकारले उनलाई नख्खु कारागार स्थानान्तरण गरेको हो ।