काठमाडौं, भदौ १ :

प्रतीक्षित चलचित्र ‘बलिदान’ को टिजरले युट्युबमा सार्वजनिक भएको २४ घण्टाभित्र मिलियनभन्दा बढी भ्युज हासिल गरेको छ ।

सामान्यत: चलचित्रका अन्य सामग्रीहरू- गीत, ट्रेलर र भन्दा टिजरको डिजिटल उपस्थिति कम हुने हुँदा ‘बलिदान’ टिजरले प्राप्त गरेको भ्युजलाई उत्तम मानिन्छ ।

चलचित्रका प्रमुख कलाकार समिर भट्टको स्टारडम र निर्देशक सन्तोष सेनको सिनेमाटिक प्रस्तुति यस उपलब्धिको प्रमुख आधार मानिएको छ । देशभक्ति, विद्रोह र क्रोध मिसिएको संवादसहितको टिजरले दर्शकलाई सशक्त महसुस गराएको छ ।

टिजरमा समिरलाई ‘एक्सन किङ’को परिचय दिइँदै देखाइएको छ । उनको दमदार संवाद- ‘यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ । यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ’ सामाजिक सञ्जालमा ट्रेन्डिङ बन्न पुगेको छ । यो संवादले नेपाली युवापुस्तामा ऊर्जा र गर्व जगाएको टिप्पणीहरू व्यापक रूपमा आएका छन् ।

सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र हेमन्त बुढाथोकीलगायत कलाकारले प्रस्तुत गरेको अभिनयले पनि टिजरलाई थप बल पुर्‍याएको छ ।

यसअघि समिरको जन्मदिनमा सार्वजनिक प्रि-टिजर नै नेपालसहित विदेशी मुलुकमा युट्युब ट्रेन्डिङमा आएको थियो । अहिलेको टिजरले त्यो अपेक्षालाई अझै माथि पुर्‍याउँदै ‘बलिदान’को प्रतीक्षा चरम उत्कर्षमा पुगेको सङ्केत गरेको छ ।

चलचित्र आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको हो । निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेको यस फिल्मलाई बडादसैँको फूलपातीको दिन प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।