काठमाडौँ, भदौ ३१ :

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन आफू प्रयत्नशील रहेको बताउनुभएको छ । 

आज बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि.स. १६ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयक अघि बढाइएको बताउनुभयो । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ती सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजस्व चुहावट नियन्त्रणलगायतका क्षेत्रमा पुर्‍याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रुपमा सुरक्षा निकाय रहेको बताउनुभयो ।

 परिवर्तित राजनीतिक, सामाजिक, आर्थिक तथा सुरक्षा वातावरण अनुसार मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्य अत्यन्त जटिल एवं चुनौतीपूर्ण रहेको बताउँदै लेखकले त्यसका लागि राज्यले व्यावसायिक तथा दक्ष जनशक्तिसहितको सुरक्षा निकायहरुको प्रबन्ध गरेको बताउनुभयो । 

सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई पेशागत रुपमा दक्ष एवं क्षमतावान बनाई राज्यप्रदत्त जिम्मेवारी त्रुटिरहित ढङ्गबाट सम्पादन गर्न सक्ने बनाउन विभिन्न किसिमका आधारभुत तथा उन्नत तालिमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

त्यस अवसरमा दीक्षित सशस्त्र प्रहरी सहायक निरीक्षहरुलाई अनुशासित, मेहनती एवं लगनशील भएर राष्ट्रसेवामा समर्पित हुन मन्त्री लेखकले निर्देशन दिनुभयो । 

समारोहबाट ६८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित हुनुभएको थियो । 

समारोहमा गृहमन्त्री लेखकसँगै गृहसचिव गोर्कणमणि दुवाडी, सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त बहादुर कुवँरलगायतको सहभागिता थियो ।