नेपालगन्ज, भदौ ३ :

नेपालको एकमात्र रात्रि दौड नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड विधासमेत समावेश गरिएको छ ।

विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यता प्राप्त गरेपछि पहिलोपटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो । एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्रि दौड सञ्चालन हुनेछ ।

असोज ३ गते संविधान दिवसका दिन दीप प्रज्वलनसँगै सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुला, ५ किलोमिटर छात्र एवं छात्रा स्कुल स्तरीय दौड, १० किलोमिटर भेट्रान्स पुरुष (५० वर्षमाथि उमेरसमूह), ५ किलोमिटर भेट्रान्स महिला (४५ वर्षमाथि उमेरसमूह) र १० किलोमिटर मिक्स रिले(चार जनाको समूह दौड) गरी अलग स्पर्धा राखिएको छ ।

मिक्स रिले नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसमा स्कुल, कलेज, क्लब वा कुनै पनि संघसंस्थाले महिला पुरुष गरी चारजनाको समूह बनाएर स्पर्धा गर्न सकिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए । ‘दश किलोमिटरलाई समान चार दूरीमा बाँडेका हुन्छौं, त्यहीअनुसार धावकले आफ्नो पालोमा आफ्नो दूरी पूरा गर्नुपर्ने हुन्छ,’ रेस डाइरेक्टर गुरुङले भने, ‘यो दौडले रोमाञ्चकता थप्नेछ र दौडमा आमसर्वसाधारणलाई समेत आकर्षित गर्नेछ ।’

पहिलोपटक समावेश गरिएको रिले दौडले आममान्छेलाई दौडको मजा लिन प्रेरित गर्ने एम्सदूत तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए । ‘नेपालको पुरानो सहरलाई जीवन्त बनाइरहन दौडका विभिन्न विधालाई उजागर गर्न प्रयासरत छौं,’ उनले भने, ‘नेपालगन्जलाई दौडको सहर बनाउने अभियानअन्तर्गत हामीले कर्म गरिरहेका छौं । दौडिरहने सहरको परिचयले पनि सहरको ब्रान्डिङमा सघाउनेछ ।’

नेपालगन्ज १० नाइट रन एक दशक यात्रा पूरा गरेको धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट हो । यी दुवैको संयोजन एवं व्यवस्थापन क्रियटिभगन्जले गर्दै आएको छ ।

नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको बीपी चोकदेखि सुरु भइ राँझा चोक पुगेर पुनः सोही रुटबाट बीपी चोकमै पुगेपछि १० किलोमिटर दूरी पूरा हुन्छ । नाइट रनका क्रममा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी सडक एकतर्फी मात्र सञ्चालन गरिने भएको हुँदा धावकलाई सहज हुने गर्दछ । एक महिना बाँकी रहँदा दर्ता खुला गरिएको नेपालगन्ज नाइट रनका विजेतालाई नगद पुरस्कारका साथै सप्राइज पुरस्कार चाँडै घोषणा गरिने ठकुरीले बताए ।

-फाइल तस्बिर