
नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी थालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले दुई ठूला दलले संख्याको आधारमा असंसदीय अभ्यास गरे त्यसको कडा प्रतिवाद हुने चेतावनी दिएका छन्।
‘दुई ठूला दलले संख्याका नाममा गलत खालको क्रियाकलाप गरे, असंसदीय अभ्यास गरे भने त्यसको प्रतिवाद हुन्छ,’ परियारले भने, ‘यस्तो अभ्यासले प्रकारान्तरणमा लोकतन्त्रलाई कमजोर बनाउँछ।’
उनले संख्याको बलमा जे पनि गर्न सकिन्छ भन्ने मानसिकता सबैको हितमा नहुनेसमेत बताए। कांग्रेस र एमालेको पछिल्लो गतिविधिको विरोध कसरी गर्ने भन्नेबारे रास्वपा आन्तरिक छलफलमा रहेको उनले जानकारी दिए।
‘कांग्रेस र एमालेको यो पछिल्लो गलत क्रियाकलाप विरुद्ध कसरी जाने भनेर हामी आन्तरिक छलफलमा छौं, थप छलफल गर्छौं,’ परियारले भने।
रास्वपाका अन्य नेताहरू पनि अनौपचारिक रूपमा छलफलमा संलग्न रहेको बताइएको छ। कांग्रेस र एमालेले उपसभामुख हटाउने तयारी अघि बढाएपछि राजनीतिक परिस्थिति थप तरंगित भएको छ।