काठमाडौं, भदौ ३ :

प्रधानमन्त्री केपी ओलीले १७औं नाडा अटो शोको उद्घाटन गरेका छन् ।

भृकुटीमण्डपमा मंगलबार आयोजित कार्यक्रममा उनले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताए । उनले नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।

नयाँ ढंगले काम गर्ने युवालाई सरकारले सबैखालको साथ दिने प्रधानमन्त्री ओलीले विश्वास दिलाए । ‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेका छौं । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन,’ उनले भने, ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्दै छन् । अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौं । हरित ऊर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दै छौं । प्रविधिको रुपान्तरण भइसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि  योगदान दिनुहोस् ।’