
काठमाडौं, भदौ ४ :
नर्वेकी राजकुमारीका २८ वर्षीय छोरा मारियस बोर्ग होइबीमाथि बलात्कारका चार मुद्दासहित ३२ वटा अपराधको आरोप लगाइएको छ ।
यो जानकारी अभियोजन पक्षले दिएको बीबीसीमा समाचार छ । होइबीलाई आफ्ना एक पूर्वपार्टनरलाई दुर्व्यवहार गरेको र अर्का पूर्वपार्टनरसँग धेरै कानूनहरू उल्लंघन गरेको आरोप पनि लगाइएको छ ।
मारियस बोर्ग होइबीको जन्म युवराज राजकुमारी मेट्टे-मारिटको विवाहपूर्व सम्बन्धबाट भएको थियो । यसपछि राजकुमारीले राजकुमार हाकोनसँग विवाह गरिन् । होइबीले आफूमाथि लगाइएका सबैभन्दा गम्भीर आरोप अस्वीकार गरेका छन् ।
उनका वकिल पेटर सेकुलिकले समाचार एजेन्सी रोयटर्सलाई भने कि- उनी आफ्नो क्लाइन्टलाई न्यूनतम सजाय मिलोस् भन्ने सुनिश्चित गर्न प्रयास गर्नेछन् । यदि गम्भीर आरोप प्रमाणित भए होइबीलाई १० वर्षसम्मको जेल सजाय हुन सक्छ ।