
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले गरिबीको रेखामुनि रहेकालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने प्रस्ताव राखेका छन् । सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिको बुधबारको बैठकमा मन्त्री सुडीले यस्तो प्रस्ताव राखेका हुन् ।
उनले भने, ‘अहिलेको तरिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहने हो भने नेपालको आर्थिक स्थितिले धान्न सक्दैन ।’ उच्च पदस्थ व्यक्ति र उनीहरुका परिवारलाई सामाजिक सुरक्षा भत्ता आवश्यक नहुने भन्दै मन्त्री सुडीले विनोद चौधरीको आमा-बुबालाई किन सामाजिक सुरक्षा भत्ता चाहियो ? भनी प्रश्न गरे ।
नेपालमा २० प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको भन्दै उनीहरुको भत्ता बढाउनुपर्नेमा जोड दिए । हाल सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपाङ्गता, लोपोन्मुख जाति, बाल पोषण भत्तालगायतका शीर्षकमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।