काठमाडौं, भदौ ५ :

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्न माग गरेकी छन् ।

सिंहदरबारमा बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न वा बन्द गर्न नपाउने कुरा विधेयकमै लेखिनुपर्ने सुझाइन् ।

‘विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने भन्ने कुरा अन्त्य हुनुपर्छ । विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी वा बन्द गर्न पाउँदैन,’ उनले भनिन्, ‘विद्यार्थीले पाउने मौलिक हकको हनन् कसैले पनि गर्न पाउँदैन, जुनसुकै कारण भए पनि । त्यो कुरा हामीले शिक्षकहरूको हकमा बन्द हड्ताल गर्न नपाउने भनेर लेखेका छौं । तर त्यो कुरा निजी विद्यालयका लागि पनि लेखिनुपर्नेछ । विद्यालयहरू कुनै पनि बहानामा बन्द गरिनु हुँदैन ।’

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथिको छलफलमा उनले विद्यालय तालाबन्दी रोक्न कानुनी व्यवस्था आवश्यक रहेको जनाइन् ।

शिक्षकहरूका हकमा बन्द हड्ताल गर्न नपाउने भनेर विधेयकमा उल्लेख भएकोप्रति ध्यानाकर्षण गराउँदै उनले यो व्यवस्था निजी विद्यालयका लागि पनि लेखिनुपर्ने बताएकी छन् । साथै उनले अनिवार्य निःशुल्क शिक्षा तोकेबमोजिम सबैले पाउनुपर्नेमा जोड दिइन् ।

साथै उनले विद्यालय शिक्षासम्बन्धी विधेयकमा जसरी भए पनि सहमति जुटाउनुपर्नेमा उनको जोड थियो । उनले सकभर सहमतिमा नभए फरक मत राखेर भए पनि विधेयक प्रतिनिधिसभासम्म पुर्‍याउनुपर्ने धारणा राखिन् । ‘आज जसरी भए पनि प्रतिनिधिसभासम्म पुर्‍याउनुपर्छ । सके सहमतिमा जाऊँ नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म जाऊँ,’ उनले भनिन् ।

विधेयकमा दुई विषयमा विवाद छ । विधेयकमा निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोसाक दिने विषय विवादित छ । श्रेष्ठ पूर्वशिक्षा विज्ञान तथा प्रविधिमन्त्री पनि हुन् ।