काठमाडौं, भदौ ६ :

नेकपा एमालेका अध्यक्ष  एवं  प्रधानमन्त्री केपी ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका साहसहितलाई पार्टीमा प्रवेश गराएका हुन् । यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्वउपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु एमालेमा प्रवेश गरेको ओलीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै गलत बाटो देखाउनेहरुको बहकाऊमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आएकामा धन्यवाद दिए । ‘हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौं । अपराध सोचेर बस्नेहरूको जन्जालबाट तपाईंहरु मुक्त हुनुभएको छ,’ अध्यक्ष ओलीले भने, ‘हामी एमालेको ठुलो परिवार भएर लागौं । मिलेर देश बनाउँ । गलत काम नगरौं ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुने नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गरे । उनले भने, ‘अहिले पूर्वराष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएको छ । खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिर बाहिर बोल्नुभएको छ । पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी  एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं ।’

कार्यक्रममा नेता उपेन्द्र साहले प्रभु साह नेतृत्वको आजपाले जनताको लागि काम गर्छ भन्नु भ्रम रहेको अनुभव लिएर जनताको पार्टी एमाले नै आफ्नो गन्तव्य भएको भन्दै अध्यक्ष ओलीलाई फुर्क्याए ।