
संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक भदौ १३ गते बस्ने गरी स्थगित भएका छन् ।
प्रतिनिधिसभाको आज शुक्रबारको बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले अर्को बैठक भदौ १३ गते शुक्रबारसम्मका लागि स्थगित गरेको घोषणा गरे । यसैगरी आजै बसेको राष्ट्रिय सभा बैठक पनि भदौ १३ गते शुक्रबारसम्मका लागि स्थगित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा फरक मतसहित संसदीय समितिले पास गरेका विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ पेस भए ।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बिहीबार फरकमतसहित पारित ‘विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ समिति सभापति अमरबहादुर थापाले पेस गरे । समितिले प्रतिवेदन पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन् ।
त्यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन’ पेस गरिन् । विधेयकमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले फरक मत राखेका छन् ।